धनगढी, १ पुस । भौतिक संरचनामा भएको क्षतिका कारण झन्डै तीन महिनादेखि अन्यौल सुदूरपश्चिम प्रदेश सभाको बैठक पुस पहिलो साता बस्ने भएको छ ।
सभा हल मर्मतको कार्य केही दिनभित्रै पूरा गरेर पुस पहिलो सातामै प्रदेश सभाको बैठक बसाउने तयारी गर्न लागिएको हो । सभा हल मर्मतको कार्य तीन÷चार दिनभित्रै सकिने सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए । उनले मर्मत कार्य सकेर छ÷सात दिनभित्रै प्रदेश सभाको बैठक बसाउने तयारी रहेको उल्लेख गरे ।
“मर्मतको कार्य पूरा गर्न धेरै दिन लाग्दैन”, सभामुख भण्डारीले भने,“छ÷सात गते नै बैठक बस्ने तयारी छ ।”
जेनजी आन्दोलनकारीले भदौ २४ गते प्रदेश सभा भवन, सचिवालय, विषयगत समितिहरुका कार्यालय र राजनीतिक दलहरुका संसदीय दलको कार्यालयमा आगजनी र तोडफोड गरेका थिए । आगजनी र तोडफोडले भएको क्षतिका कारण प्रदेश सभा बैठक सञ्चालन गर्न सकिएको छैन । त्यस अगाडि भदौ ५ गते सभाको बैठक बसेको थियो ।
प्रदेश सभा सचिवालयका अनुसार प्रदेश सभा भवनको पहिलो चरणमा शहरी विकास तथा भवन डिभिजन कार्यालयमार्फत मर्मत कार्य भएको थियो । मर्मतमा १० लाख रुपियाँभन्दा बढी खर्च गर्न नमिलेका कारण आधाभन्दा बढी काम बाँकी रहेको थियो ।
संघीय सरकारले विशेष परिस्थितिमा भएको भौतिक क्षति निर्माण गर्नका लागि ठेक्का दिन सकिने व्यवस्था गरेपछि दोस्रो चरणको मर्मतको कार्य भइरहेको छ । दार्चुलाको जगदम्बा निर्माण सेवाले ठेक्का पाएर मर्मतको काम गरिरहेको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले बताए । माथि सिलिङको काम पहिल्यै भइसकेको जानकारी दिदैं उनले भने,“अब वायरिङ, प्यानेल गर्ने र झ्यालको फुटेका सीसा फेर्ने काम भइरहेको छ । यो काम चाँडै सकिन्छ ।”
विशेष परिस्थितिमा क्षति भएको संरचना पुनःनिर्माण गर्न संघीय सरकारले नै ठेक्का आवह्वान गरेको थियो । सुदूरपश्चिम प्रदेश सभा भवन पुनःनिर्माण गर्न २० लाख बजेट रहेकोमा निर्माण कम्पनीले १३ लाख १८ हजार रुपियाँमा ठेक्का पाएर काम गरिरहेको सचिव बोगटीले बताए ।
प्रदेश सभामा अहिलेसम्म सभा भवनकोमात्रै मर्मत गरिदैँछ । सचिवालय, विषयगत समितिका कार्यालयहरु, संसदीय दलहरुका कार्यालयहरु मर्मत अझै बाँकी रहेको छ । बाँकी कार्यालयहरुको मर्मतका लागि करिब ८० लाख रुपियाँ बजेट खर्च हुने स्टिमेट गरिएको छ । जसमध्ये आधाभन्दा बढी बजेट बाहिरबाट व्यवस्था भइसकेको सभामुख भण्डारीले बताए ।