धनगढी, २० मंसिर । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ देवहरीया स्थित नवज्योति कृषि सहकारी संस्था लिमिटेडको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष मेघनाथ रानाथारुको सभाध्यक्षतामा साधारण सभा सम्पन्न हो । साधारण सभामा अध्यक्ष रानाथारुले २०८२ असार मसान्तसम्मको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा एक हजार ३३८ जना शेयर सदस्य रही, निक्षेप १७ करोड २७ लाख ९१ हजार ४४९ रुपैयाँ ६९ पैसा र चुक्ता शेयरपूँजी १ करोड ५२ लाख ४४ हजार ३ सय, जगेडा कोष १ करोड १५ लाख ९ हजार ५७२ रुपैयाँ ८ पैसा रहेको जानकारी दिए ।

साथै उनले सहकारीले लगानी ११ करोड ५९ लाख ९५ हजार २५७ रुपैयाँ ४९ पैसा शुद्ध नाफा ९ लाख ६६ हजार २१४ रुपैयाँ ९० पैसा रहेको जानकारी दिए । उक्त कार्यक्रममा २० करोड ६९ लाख ५१ हजार ७३२ रुपैयाँ ९५ पैसा बराबरको लेखा परिक्षण प्रतिवेदन संस्थाका व्यवस्थापक उग्रसेन रानाले प्रस्तुत गरेका थिए ।
यसैगरी, २४ करोड ६५ लाख ५९ हजार ४९४ रुपैयाँ ३२ पैसा बराबरको अनुमानित बजेट ऋण अधिकृत पृथ्वी रानाले प्रस्तुत गरेका थिए । कर्जा तथा निक्षेपमा थपघट सम्बन्धी प्रतिवेदन ऋण समितिका सदस्य जगतराम रानाले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सुप प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष तथा सल्लाहकार सदस्य माननीय डा. जीवन राना, धनगढी–७ का वडाध्यक्ष तथा संस्थाका निवर्तमान अध्यक्ष सिताराम राना, धनगढी–१७ का वडाध्यक्ष तथा निवर्तमान उपसमिती सदस्य माधवराज राना, वडा सदस्य बासु रानाथारु लगायत शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।
सोही अवसरमा १७औँ साधारण सभाले संस्थाका निवर्तमान अध्यक्ष सिताराम राना, निवर्तमान सदस्य चनकलाल चौधरी, निवर्तमान सल्लाहकार सदस्य बालसुग्रीव राना, उपसमितिका निवर्तमान सदस्य नरेश राना, कोशी प्रदेश लोक सेवा आयोगमा सहायक लेखापाल ५औँ तहमा उत्तीर्ण संस्थापक कोषाध्यक्ष बिन्द्रा राना, जेष्ठ नागरिक साहेव राना र मन्सा राना, असल ऋणी भगवानदिन राना र पानमती रानालाई सम्मान गरिएको थियो ।
साधारण सभामा शेयर सदस्यहरुको तर्फबाट अन्तराम चौधरी र कौसिल्ला रानाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन सचिव मनोज विक्रम चौधरीले गरेका थिए भने स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष भिराराम रानाले व्यक्त गरेका थिए ।