५ बैशाख २०८३, शनिबार April 18, 2026

पहुरा थारू दैनिक ‘थारू रत्न’ बाट सम्मानित हुँदै

२६ कार्तिक २०८२, बुधबार
पहुरा थारू दैनिक ‘थारू रत्न’ बाट सम्मानित हुँदै

धनगढी, २६ कात्तिक । कैलालीको धनगढीबाट नियमित प्रकाशन हुँदै आएको पहुरा थारू दैनिक पत्रिकालाई थारू रन्तबाट सम्मान गरिने भएको छ ।
थारू आयोगले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा पहुरा पत्रिका लगायत विभिन्न व्यक्तित्वलाई थारू रत्न र थारू गौरवद्वारा सम्मान गर्ने जनाएको छ ।
आयोगकी सदस्य शान्ति मोदीले थारू आयोगबाट सम्मान गरिनेहरुको नामावलीबारे जानकारी दिइन् । उनले थारू रत्नबाट सम्मानित हुनेहरुमा पहुरा थारू दैनिक पत्रिका (कैलाली), लेखक लक्ष्मण चौधरी (उदयपुर), डा. गोपाल दहित (बर्दिया), श्रीपति चौधरी (दाङ), हृदयनारायण चौधरी (बारा), स्वर्गीय भानुराम माझी (मोरङ), परशुराम भगत (मोरङ), सत्यनारायण चौधरी (मोरङ), हौली परिवार (सुनसरी, मोरङ) लगायत रहेका छन् ।
यसैगरी थारू गौरवबाट सम्मान गरिनेमा थारू आयोगका पूर्व अध्यक्ष विष्णु चौधरी, सदस्य डा. उमाशंकरप्रसाद चौधरी, सत्यमोहन जोशी (सप्तरी), युनिका नेपाल (बर्दिया), भगवती चौधरी (सुनसरी), सिनेकर्मी परशुराम चौधरी (सुनसरी), देवकुमार चौधरी (झापा), पत्रकार लक्की चौधरी (कैलाली), शान्ति चौधरी (बारा), शान्ता चौधरी (दाङ), प्रदीप भगत (सुनसरी) रहेका छन् ।
त्यस्तै, थारू आयोगका पूर्व सचिव कृष्णकान्त उपाध्याय, पूर्व शाखा अधिकृत जागुराम चौधरी लगायत कर्मचारीलाई प्रोत्साहन पुरस्कार दिइने बताइएको छ । यो अन्तिम सूची नभएकाले पछि अरु पनि थप्न सकिने सदस्य मोदीले जानकारी दिइन् । अगामी माघ पर्वको अवसरमा पारेर सम्मानित गरिने समेत सदस्य मोदीले जानकारी दिइन् । यसअघि थारू आयोगले पहिलो पटक २०८० सालमा विभिन्न व्यक्तिलाई सम्मान गरेको थियो ।
आयोगको वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर रहेका थिए । उनले आयोगबाट गरिएको सिफारिस कार्यान्वयको अवस्था निराशाजनक रहेको बताए ।
थारू आयोगका सचिव रुद्रप्रसाद लामिछाने राजदूतलगायत विभिन्न निकायमा थारू समुदायकालाई नियुक्ति सिफारिस गरिएकोमा कार्यान्वयन नभएको बताए ।
थारू कल्याणकारिणी सभाका केन्द्रीय अध्यक्ष प्रेमीलाल चौधरीले थारू आयोगको कामको पुनरावलोकनको समय आएको तर केही काम नभएकोमा चिन्ता व्यक्त गरे । थरुहट संघर्ष र बलिदानीबाट आयोग गठन गरिएकोमा सबै एकजुट भएर आयोगलाई डोर्याउनु आजको आवश्यकता भएको उनको जिकिर थियो ।
आयोगका कावा अध्यक्षता सुबोधसिंह थारूको अध्यक्षतामा भएको कार्यक्रममा आयोगका सदस्य भोलाराम चौधरी स्वागत मन्तव्य राखेका थिए ।