धनगढी, ३ असोज । कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ७ छटकपुर बसन्तामा क्षमता नेतृत्व विकास तथा लैङिक हिंसा न्यनिकरणका लागि ऐन कानून सम्बन्धी दुई दिने तालिम सुरु भएको छ ।
सुइटी सामुदायिक वन उपभोक्त समुह र खौरहवा शिव सामुदायिक वन उपभोक्ता समुहको आयोजना तथा दलित महिला अधिकार मञ्च कैलाली, डिसिएको समन्वयमा सामुदायिक वनका सदस्यहरुको क्षमता नेतृत्व विकास तथा लैङिक हिंसा न्यनिकरणका लागि तालिम सुरु भएको हो ।
तालिम उदघाटन कार्यक्रम कैलारी गाउँपालिका कार्यपालिका सदस्य सुन्दरीदेवी चौधरीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामुदायिक वनले कार्ययोजना र पारदर्शिता ढंगले अगाडी बढेमात्र विकास हुने बताइन् । साथै उनले सामुदायिक वनका सबै उपभोक्ता सदस्यहरुलाई विधानबारे अध्ययन गर्न जरुरी रहेको पनि बताइन् ।
यसका साथै कैलारी गाउँपालिका वडा नम्बर ७ डुबान, जंगली जनावरको अतांक, नदि कटानसँगै आगलागीको दृष्टिले उच्च जोखिम भएकोेले न्यूनिकरणका लागि समन्वय आवश्यक रहेको बताइन् ।
कार्यक्रममा डिभिजन वन कार्यालय बसन्ताका वन रक्षक विश्वास धामी सामुदायिक वनमा महिला पुरुष दुवैलाई ५०/५० प्रतिशत हक अधिकार सुनिश्चितता गरेको तर कार्यान्वयनमा नआएको बताए ।

सुइटी सामुदायिक वनका सचिव तथा दलित महिला अधिकार मञ्च धनगढीका सहजकर्ता निलु चौधरी महिलाहरुको नेतृत्व तथा क्षमता विकाससँगै उद्यमशिलता तर्फ जोड्नका लागि उपभोक्ता सदस्यहरुका लागि तालिमको आयोजना गरेको बताइन् ।
कैलारी गाउँपालिकामा ४८ वटा सामुदायिक वन मध्ये दलित महिला अधिकार मञ्च २५ वटा सामुदायिक वनमा विभिन्न कार्यक्रम संचालन गरिरहेको पनि उनले जानकारी गराइन् । उनले गत बर्ष यी सामुदायिक वनले सामाजिक उत्तरदायित्व बहन गर्नका लागि बालबालिकाहरुलाई छात्रवृत्रिमा सहयोग गरेको बताइन् ।

तालिम उदघाटन कार्यक्रम खौरहवा शिव सामुदायिक वनका अध्यक्ष लेखराम चौधरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा मन्तव्य राख्दै उनले सामुदायिक वनको आम्दानीको केही प्रतिशत वन विकाससँगै गरिबी निवारण, आयआर्जनमा खर्च गर्नुपर्ने भएकोले त्यहि अनुसार अगाडी बढने बताए । सामुदायिक वनले गर्भवती महिलाहरुलाई सहयोग, बालबालिकाहरुलाई छात्रवृति, बंगुर पालन, तरकारी खेतीमा सहयोग गर्ने योजना रहेको बताए ।
महिलाहरु लैङिक हिंसामा परेपनि हकअधिकारका लागि बोल्न नसक्ने उपभोक्ताहरुको क्षमता नेतृत्व विकास र सामुदायिक वनका ऐन कानूनबारे जानकारी दिनका समन्वय गरेकोले दलित महिला अधिकार मञ्चलाई धन्यवाद दिए ।
कैलारीको ४८ वटा सामुदायिक वन मध्ये आफनो सामुदायिकमा कार्यक्रम संचालन गरेको प्रति हार्दिक अभार व्यक्त गर्दै सामुदायिक वनलाई नमुना बनाउन सबै उपभोक्ता सदस्यको समन्वय जरुरी रहको बताए ।
कार्यक्रम संचालन खौरहवा शिव सामुदायिक वनका सचिव महाविर चौधरीले गरेका थिए । उद्घाटन कार्यक्रममा सुइटी सामुदायिक वनका अध्यक्ष रामचरण चौधरी, शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष फुलपति चौधरी, सब डिभिजन वन कार्यालय बसन्ताका बनरक्षक शिवराज पाण्डे, महिला स्वास्थ्य स्वयं सेविका घुम्नी चौधरी, विद्यादेवी चौधरीलगायतको सहभागिता रहेको थियो ।
दुई दिनसम्म संचालन हुने क्षमता नेतृत्व विकास तथा लैङिक हिंसा न्यनिकरणका लागि ऐन कानून सम्बन्धी तालिममा सहजीकरण सरिता चौधरीले गरिरहेकी छन् ।