टीकापुर, १६ वैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामन्ती राजतन्त्र नफर्किने बताएका छन् ।

तराई मधेश जागरण हुलाकी मार्ग अभियानका लागि कैलाली पुगेका अध्यक्ष प्रचण्डले मङ्गलबार टीकापुर नगरपालिका–९ झुङ्गामा आयोजित सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले वंशका आधारमा राजा हुने व्यवस्था हटाएर सार्वभौमसत्ता सम्पन्न जनता हुने संविधान जनताका छोराछोरीले लेखिसकेको बताए ।
अध्यक्ष प्रचण्डले सामन्तीहरूका विरुद्ध क्रान्तिकारीहरूले चैत १५ गते काठमाडौँमा विशाल प्रदर्शन गरेपछि राजावादीहरूले हत्या, हिंसा, आगजनी गरेर बितण्डा मच्चाएको र असफल भएर पतनको बाटोमा गएको पनि बताए ।

यसै बिच अध्यक्ष प्रचण्डले अनाथ तथा सहिद परिवारका बालबालिकाहरूको अभिभावकत्व ग्रहण गरेका छन् । भजनी नगरपालिका–५ स्थित कर्मेश्वर माविमा आयोजित शैक्षिक कार्यक्रमका क्रममा अध्यक्ष प्रचण्ड अल्पसंख्यक राजी समुदायका कक्षा ३ मा अध्ययनरत निन्दु राजी र सहिद परिवारकी कक्षा १० मा अध्ययनरत अनिशा थरूनीको अभिभावकत्व ग्रहण गर्ने घोषणा गरेका हुन् । उनले यी बालबालिकाको शिक्षा र भविष्य निर्माणसम्मको सम्पूर्ण जिम्मेवारी पार्टी र आफूले बहन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले शैक्षिक पात्रो विमोचन गर्नुका साथै निन्दु राजी र अनिशा थरूनीलाई पाठ्य सामग्रीसहितको झोला हस्तान्तरण गरेका थिए ।
अभियानमा नेकपा माओवादी केन्द्रका नेताहरू नारायणकाजी श्रेष्ठ, नन्दबहादुर पुन, पम्फा भुषाल, अग्निप्रसाद सापकोटा, देवप्रसाद गुरुङ, गिरिराजमणि पोखरेल, खगराज भट्ट लगायत सहभागी रहेका छन् ।