५ बैशाख २०८३, शनिबार April 18, 2026

कैलारी गाउँपालिका १० बर्षे शिक्षा योजना निर्माण गर्दै

१५ बैशाख २०८२, सोमबार
कैलारी गाउँपालिका १० बर्षे शिक्षा योजना निर्माण गर्दै

हसुलिया, १५ बैशाख । कैलाली जिल्लाको कैलारी गाउँपालिकामा गुणस्तरीय सिकाईका लागि १० बर्षे विद्यालय शिक्षा क्षेत्र योजना बनाउनका लागि छलफल गरिएको छ ।
यूरोपियन यूनियन, यूनिसेफको आर्थिक सहयोग, सामुदायिक सिकाई केन्द्र (सिडिसी) डोटीको प्राविधिक सहयोग र कैलारी गाउँपालिका शिक्षा शाखाको समन्वयमा २०८२ देखि २०९२ सम्मका लागि स्थानीय शिक्षा क्षेत्र योजना तथा बजेट निर्माणमा स्थानीय सरकारको क्षमता अभिवृद्धि र सुझाव संकलन गरिएको हो ।
छलफल कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष भगवतीकुमारी चौधरीले शैक्षिक सुधारका लागि १० बर्षे स्थानीय शिक्षा क्षेत्र योजना ल्याउनु पर्ने जरुरी रहेको बताइन् । ‘भौतिक पूर्वाधार जस्तै शिक्षा क्षेत्रमा तुरुन्तै परिवर्तन देखिदैन,’ उनले भनिन्, ‘ यसलाई सुधार गर्नका लागि केही समय लाग्ने र विद्यालय सुधार योजना बनाएपछि प्रत्येक वर्ष योजना बनाएर काम गर्दा शिक्षा क्षेत्रमा सुधार हुनेछ ।’
उपाध्यक्ष अगाडी थपिन्, ‘संविधानको अनुसुचि ८ ले माध्यमिक तहसम्मको शिक्षा व्यवस्थापनको अधिकार र दायित्व स्थानीय तहले दिएको वर्तमान सन्दर्भमा यो योजना निर्माण गर्दा अगामी १० वर्षमा माध्यमिक तहसम्मको शिक्षालाई कसरी व्यवस्थापन हुने र विकास गर्ने भन्ने विषय यस योजनाको उद्देश्य हो । जुन उद्देश्यका साथ हामीले यो योजना निर्माणमा लागेका हौं ।’
उनले उक्त योजना सफल कार्यान्वयन गर्न गाँउपालिका एक्लैको प्रयास अपुग हुने भन्दै त्यसका लागि सम्पूर्ण विद्यालय परिवार, शिक्षक, अभिभावक, विद्यार्थी लगायत सरोकारवाला आउने दिनमा थप सहयोगको खाँचो रहेको बताइन् ।
सामुदायिक सिकाई केन्द्र (सिडिसी) डोटीकी शिक्षा अधिकृत पदमा खत्री १० बर्षे विद्यालय योजनाबारे प्रस्तुतीकरण गरेकी थिइन् । जस्को परिच्छेद १ मा वर्तमान अवस्था, मुख्य समस्या तथा चुनौतीको विश्लेषण गरिएको छ । परिच्छेद २ मा दूरदृष्टि, उद्देश्य, रणनीति तथा लक्ष्य निर्धारण विषय बस्तुमा स्थानीय तहमा शिक्षा योजना निर्माण गर्दाको आधार रहेको छ । जसमा दूरदृष्टि, लक्ष्य, उद्देश्य, रणनीति, कार्यनीति, अपेक्षित उपलब्धी, मुख्य कार्यसम्पादन सूचक र लक्ष्य निर्धारण गरिएको छ ।
परिच्छेद ३ मा शिक्षाको मुख्य उपक्षेत्र विषय बस्तु समेटिएको छ । जसमा प्रारम्भिक बालविकास र शिक्षा, आधारभूत शिक्षा, माध्यमिक शिक्षा, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम, अनौपचारिक शिक्षा र आजीवन सिकाइ रहेको छ ।
परिच्छेद ४ मा अन्तरसम्बन्धित विषय तथा क्षेत्र विषय बस्तु समेटिएको छ । त्यसमा पाठ्यक्रम, पाठ्यपुस्तक, सिकाइ सामग्री तथा मूल्याङकन, शिक्षक व्यवस्थापन र विकास, शैक्षिक समता र समावेशीकरण, विद्यालय पोषण तथा स्वास्थ्य कार्यक्रम, विद्यालय सुरक्षा, विपद न्यूनीकरण तथा उत्थानशीलता, विद्यालय भौतिक पूर्वाधार विकास, विद्यालयमा सूचना तथा सञ्चार प्रविधि रहेको छ ।
परिच्छेद ५ मा अन्य उपक्षेत्र समेटिएको छ । जसमा उच्च शिक्षाको प्रवन्ध, मातृभाषामा शिक्षा, सार्वजनिक पुस्तकालय, नैतिक शिक्षा पनि समावेश गरिने उल्लेख रहेको छ ।
परिच्छेद ६ मा सुशासन तथा व्यवस्थापन विषय बस्तु समेटिएको छ । जसमा शिक्षाको व्यवस्थापन तथा संस्थागत क्षमता विकास, स्थानीय शिक्षा योजना कार्यान्वयनको प्रवन्ध गर्ने भनिएको छ ।
परिच्छेद ७ मा लगानी र श्रोत व्यवस्थापन विषय बस्तु समेटिएको छ । जसमा वर्तमान अवस्था, उद्देश्य, रणनीति, प्रमुख उपलब्धी प्रमुख क्रियाकलाप र लक्ष्य, योजनाको वार्षिक वजेट तर्जुमा प्रक्रिया, योजना कार्यान्वयनका लागि वार्षिक रणनीति कार्यान्वयन योजना निर्माण तथा कार्यान्वयन गर्ने उल्लेख रहेको छ ।
परिच्छेद ८ मा अनुगमन तथा मूल्याङकनको विषय बस्तु समेटिएको छ । जसमा वर्तमान अवस्था, उद्देश्य, रणनीति, प्रमुख उपलब्धी तथा नतिजा, प्रमुख क्रियाकलाप र परिमाणात्मक लक्ष्य लिएको छ ।
त्यसै गरि सन्दर्भ सामग्रीको अनुसूची १ मो स्थानीय शिक्षा योजनाको ढाँचा, २ मा विद्यालय शिक्षामा विद्यमान समस्या, त्यसको कारण र असरको केही उदाहरण देखाइएको नमूना समस्या वृक्ष, ३ मा विद्यालयमा प्रारम्भिक बालविकास शिक्षाको क्षेत्रमा रहेको सवल पक्ष, कमजोरी, अवसर र चुनौतीका केही उदाहरण प्रस्तुतर गरिएको एसडब्लुओटी विश्लेषण नमूना, ४ शिक्षासंग सम्बन्धित ऐन, नियम, निर्देशिका लगायतका नीतिगत दस्तावेजको सूची रहेको सिडिसी डोटीकी शिक्षा अधिकृत खत्री बताइन् ।
१० बर्षे विद्यालय शिक्षा क्षेत्र योजना बनाउनका लागि छलफलमा सिडिसी डोटीकी अनुगमन अधिकृत भागरथी जोशी, लक्ष्मी मावि पृथ्वीपुरकी शिक्षिका मिना बोहरालगायत सहजीकरण गरेका थिए ।
कैलारी गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख तथा सूचना अधिकारी यगम कलेल १० बर्षे शिक्षा योजनाको परिच्छेद र अनुसुचीमा थप छलफल गरि कार्यपालिकामा लैजाने र गाउँसभाबाट पास गर्ने बताए । शिक्षा योजना छलफलमा शिक्षा समितिका सदस्य, वडा अध्यक्ष, कार्यपालिका सदस्य, विषयगत शाखाका प्रमुखहरु सुझाव र सल्लाह दिएका थिए ।