अविनाश चौधरी
धनगढी, ९ मङ्सिर । केही दशक अगाडिसम्म थारु बसोबास ग्रामीण क्षेत्रको हिउँदे विहानी गुल्जार हुन्थ्यो । घरका ‘किसनुवा’ (घरमूली) देखि लिएर बूढाबूढी, बालबच्चा ‘खेन्हुवा’ (धान राखिएको ठाउँ) मा ‘कौह्रा’ (कट्कर्री र भुसको ) ताप्दै चिसो विहानीलाई न्यानो बनाउने गर्दथे ।
उनीहरु कौह्रामा वह्रा (मकै भुटेर खाने) खान्थे, रमाउँथे । गोरुले धान दाइँ गर्ने व्यक्तिदेखि लिएर धान केलाउने महिला काम सकेर हात सेक्ने, शरीर न्यानो बनाउने र मिठा मिठा बात मार्ने थलो बनेको थियो, कौह्रा । तर, आदिवासी जनजाति थारु समुदायको मौलिक पहिचान झल्काउने यो चलन अचेल लगभग हराइ सकेको छ ।
खेतीपाती गर्ने तौरतरिकामा आएको परिवर्तनका कारण उहिले गाउँघर, परिवारमा एकता र रौनकता थपेको कौह्रा अहिले हराउन थालेको हो । ‘अहिले जुगै अर्कै आएको छ’, एक्लै कौह्रामा आगो ताप्दै गरेको भेटिनु भएका धनगढी उपमहानगरपालिका–८ का ६८ वर्षीय ज्येष्ठ नागरिक लखपति चौधरीले भने,‘अब यो सब हराइ रहेको छ । न खेन्हुवा छ, न त माली दाइँ हुन्छ (गोरुले धान दाइँ गर्ने कार्य) । अचेल सबै काम मसिनले गर्न थालेको छ ।’
थ्रेसिङ गर्ने आधुनिक मेसिन नआएको बेलासम्म किसानले धान भित्र्याउने एकमात्रै माध्यम थियो, माली दाइँ । उनीहरु पुस, माघसम्म गोरुले धान दाइँ गर्ने र भित्र्याउने कार्य गर्दथे । त्यस क्रममा हरेक विहान खेन्हुवाँमा कौह्रा बालिन्थ्यो । तर, अचेल धेरैजसो काम मेसिनले गर्न थालेपछि किसानले गोरु पाल्न र गोरुबाट काम लिन छोड्न थालेका छन् ।
कोही कोहीले खेतीपातीको कामसमेत छोडी सकेकोप्रति चिन्ता व्यक्त गर्दै चौधरीले अगाडि थपे,“खेती नगरे खाने के ? सबैभन्दा ठुलो त खेतीपाती हो, योभन्दा ठुलो अरु केही छैन ।” अचेल मान्छेले खेतीपाती छोडेर मजदुरी गर्ने परिपाटीको विकास भइरहेको उनको ठम्याइ छ ।
आफूले धनगढीमा तीन बिघाभन्दा बढी जमिनमा खेतीपाती गर्दै आएको सुनाउँदै चौधरीले ठट्यौली पारामा भने,“सम्पत्ति छैन । नाममात्रै मेरो लखपति हो ।”
पछिल्लो समय कृषि क्षेत्रमा आधुनिक कृषि उपकरणको प्रयोग बढ्दो छ । बीउ छर्ने, रोपाइँ गर्ने, काट्नेदेखि लिएर दाइँ गर्ने काम मेसिनबाट हुन थालेको छ । मेसिनको प्रयोगले छोटो समयमै धेरै काम हुन थालेपनि यसले कतिपय परम्परागत अभ्यास, मौलिक कार्यलाई ओझेल पार्ने कार्य पनि गरिरहेको छ ।
पहिले पहिले कौह्रामा धेरै वह्रा खाएको स्मरण गर्दै स्थानीय लौटीदेवी चौधरीले अचेल मकै नै नहुने गरेको बताइन् । उनले भनिन्,“पहिलेको जस्तो मकै खेती अब हुँदैन । मकै न कौह्रा छ, न त वह्रा खाने काम हुन्छ ।”