३ बैशाख २०८३, बिहीबार April 16, 2026

गुरगी सिँचाइ योजना निर्माणमा अनिश्चितता

३ बैशाख २०८३, बिहीबार
गुरगी सिँचाइ योजना निर्माणमा अनिश्चितता

धनगढी, ३ बैशाख । कैलालीको कैलारी गाउँपालिका २ स्थित गुरगी सिँचाइ योजना निर्माणमा अनिश्चितता देखिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले उक्त योजनालाई बहुवर्षिय योजनाको रुपमा स्रोत सुनिश्चितता नगरेपछि निर्माण नहुने अनिश्चितता देखिएको हो ।
प्रदेश सरकारले यस अघि बहुवर्षीय योजनाको रूपमा लिँदै सो योजना निर्माणको लागि आव २०७५/७६ मा ५० लाख, आव २०७९/८० मा १२ करोड, आव २०८०/८१ मा ६ करोड, आव २०८१/८२ मा ५ करोड र आव २०८२/८३ को रातो किताबमा ३ करोड गरि २६ करोड ५० लाख बिनियोजन गरेको थियो ।
तर सुदूरपश्चिम प्रदेश सरकार आर्थिक मामिला मन्त्रालयले उक्त योजनालाई बहुवर्षीय योजनाको रुपमा स्रोत सुनिश्चितता नगरेपछि निर्माण नहुने देखिएको हो । प्रदेश सरकारले बहुवर्षीय योजनाको रुपमा स्रोत सहमति नदिएपछि सामाजिक सञ्जालमा सरकारको विरोध सुरु भएको छ । गत वर्ष पनि निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको बेला पानीको मुहानको स्रोत सुनिश्चितको बखेडा झिकेर प्रक्रिया नै रोक्न खोजिएपछि स्थानीय उपभोक्ताहरू आक्रोशित हुँदै विरोधमा उत्रेका थिए ।


जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कैलालीले प्रस्तावित गुरगी सिँचाइ योजना भन्दा करिब ४ किलोमिटर माथि सोही कटैनी नदीमा बनेको अर्को टेंढी सिँचाइ योजनासँग सहमति लिनुपर्ने र नदीमा पानीको स्रोत सुनिश्चितता नै नभएको भन्दै प्रक्रिया नबढ्ने अडान लिएको थियो ।


यसै बिच विभिन्न बहानामा करोडौं बजेटको सिँचाइ योजना तुहाउन खोजिएपछि उपभोक्ताहरू संघर्ष समिति बनाएका छन् । यस अघि कैलारी गाउँपालिका वडा नं. ७ का पूर्व वडाध्यक्ष कमल प्रसाद चौधरीको संयोजकत्वमा रहेको ९ सदस्यीय सङ्घर्ष समितिलाई पुर्नगठन गरिएको छ । पुर्नगठन गरिएको संघर्ष समितिको संयोजकमा वडा नम्बर ७ बर्का बसन्ताका भलमन्सा बाबुराम चौधरी रहेका छन् । जसको सदस्यमा प्रत्येक गाउँका बरघर, भलमन्सा, गुरगी बाँध सिँचाइ जल उपभोक्ता संस्थाको प्रतिनिधि, टेंढी सिँचाइ योजना जल उपभोक्ता संस्थाका प्रतिनिधि सहित रहेका छन् । संघर्ष समितिले बाँध निर्माणका लागि प्रदेश सरकारलाई दवाव सहित केन्द्र सरकारसँग पहल गर्ने जनाएको छ ।


५७ वर्षअघि निर्माण भएको गुर्गी सिँचाइ आयोजना २०६४ सालको बाढीले भत्काएपछि अलपत्र परेको छ । आर्थिक वर्ष २०६२/६३ मा बनाइएको पक्की बाँध २०६४ सालमा आएको बाढीले भत्काएपछि सो आयोजना हालसम्म अलपत्र परेको हो ।
दुई दशकअघि भत्केको बाँध अहिलेसम्म बन्न नसकेपछि यहाँका किसान नहरको पानी उपभोग गर्नबाट वञ्चित हुँदै आएका छन् ।


वर्षौँ पुरानो सिँचाइ आयोजनामध्ये गुर्गी सिँचाइ आयोजनाको बाँध २०२६ सालमा तत्कालीन जमिनदार रामदिन महतो, छिमानन्द र देशराज महतोले यहाँका स्थानीय मार्फत बनाएको बताइन्छ ।
आव २०६२/६३ मा पक्की बाँध बनाइए पनि २०६४ सालमा आएको बाढीले आयोजनाको बाँध भत्काएपछि सो आयोजना निर्माणको काम अहिलेसम्म अघि बढ्न सकेको छैन ।
आयोजना बन्द भएर नहरसमेत अतिक्रमण भएपछि कैलारीका वडा नं १, २, ५ र ७ वडाका किसानले सिँचाइ अभावमा सो क्षेत्रका किसानले अकासे पानी र बोरिङको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता छ । जिल्लाकै नमुना रहेको सो योजनाबाट झन्डै छ हजार बढी किसान लाभान्वित हुँदै आएका थिए । बाढीले योजनाको बाँध भत्काएपछि अकासे पानीको भर पर्नुपरेको किसानको गुनासो छ । उक्त सिँचाइ योजनाबाट एक हजार चार सयभन्दा बढी हेक्टर जमिनमा सिँचाइ उपलब्ध हुँदै आएको जनाइएको छ ।
सिँचाइ विकास डिभिजन कार्यालयको सर्भेअनुसार योजनाको लागत रु ४४ करोड अनुमान गरिएको छ भने एक हजार ८०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ । योजनाबाट कैलारी–१ का बिसनपुर, लवलपुर, मनाउ, हरिनगर, डम्मरा गाउँ, वडा नं ५ का सडकपुर, पबेरा, गोब्रैला, जब्दहवा, मनिकापुर, बैजपुर गाउँ र वडा नं ७ का रतनपुर, सिउपुर, नारायणपुर, वसन्ता, छटकपुर वसन्ता, भुँइयाफाटा, रामपुर गाउँका किसान लाभान्वित हुने जनाइएको छ ।