हसुलिया, ८ भदौ । बहुउद्देश्यीय विकास समाज, डडेल्धुराले बाढी प्रभावितलाई उद्दार र सुरक्षा कार्यमा सहयोग गरेको छ ।
स्थानीय तहको समन्वयमा बाढी प्रभावित बस्तीका गई बाढी तथा डुबानमा फसेका र समस्यामा परेका व्यक्तिहरुको उद्दार र सुरक्षा कार्यमा सहयोग गरेको हो । भदौ ४ र ६ गतेको अबिरल बर्षाले कैलारी गाउँपालिका र भजनी नगरपालिका बाढी तथा डुबानमा परेको थियो ।
बहुउद्देश्यीय विकास समाज डडेल्धुराले कैलारी र भजनीका बाढी तथा डुबानबाट अत्यन्तै प्रभावित क्षेत्र तथा बस्तीहरुको अनुगमन समेत गरेको छ । कैलारी गाउँपालिका र भजनी नगरपालिकाको समन्वय, किया र कोडेकको सहयोगमा संचालित प्रकोप जोखिम न्यूनीकरणका लागि सुदूरपश्चिममा बाढी र पहिरो प्रभाबितलाई सहयोग कार्यक्रम अन्तर्गत उक्त अनुगमन गरिएको संस्थाका डिआरआर टेक्निकल एक्सपर्ट राजेन्द्र रैकाले जानकारी दिए ।

उनले कैलारी गाउँपालिका र भजनी नगरपालिकामा बाढी तथा डुबानले स्थानीयबासीहरु अत्यन्तै त्रसित र खान बस्नको समस्याको साथै संकटासन्न अवस्थामा रहेको बताए । उनले भने, ‘बाढी तथा डुबानले सबै भन्दा दलित बस्ती, मुक्त कमैया शिबिर, सिमान्तकृत समुदायका महिला बालबालिका, अपंगता भएका व्यक्ति, जेष्ठ नागरिक बढी समस्यामा रहेका छन् । उनीहरुलाई तत्काल राहत र काउन्सिलिङको आवश्यकता रहेको छ ।’

अनुगमनमा कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरी, वडा अध्यक्ष, जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, भलमन्सा, स्थानीय टास्कफोर्स, बिपद ब्यवस्थापन समिति, बिपद फोकल पर्सन, रेडक्रस, प्रहरी प्रशासन लगायतको सहभागीता रहेको थियोे ।
बाढीले गाउँपालिका पुरै जलमग्न भई नागरिकहरु समस्यामा परे पछि भाद्र ६ गते स्थानीय विपद व्यवस्थापन समितिको आपतकालिन बैठक बसेको थियो । बैठकमा जनप्रतिनिधि, राजनैतिक दल र बहुउद्देश्यीय विकास समाज डडेल्धुराको पनि प्रतिनिधित्व रहेको थियोे ।
बैठकमा विपदको बेला स्थानीय, प्रदेश र केन्द्र सरकार र नागरिक संघसंस्थाको समन्वय सहयोग र सहकार्यका लागि तत्काल अनुरोध गर्ने निर्णय गरिएको थियो ।
यसैबिच कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले ४ देखि ६ गते सम्मको अबिर बर्षाले पालिका भरी स्थानीयबासीहरु बाढी तथ डुबानको चपेटामा परी समस्या ग्रस्त अवस्थामा रहेको भन्दै विभिन्न सरकारी एंव गैरसरकारी संघसंस्थालाई आवश्यक सहयोग, राहत र सहकार्यका लागि अपिल गरेका छन् ।
तीन दिनको अबिरल बर्षाले कैलारी गाउँपालिकामा मात्रै ५४७ जना पुर्ण प्रभावित, १७४ जना बिस्थापित र २१९ जनाको घरमा क्षेती भएको पालिकाले जनाएको छ ।