८ बैशाख २०८३, मंगलवार April 21, 2026

थारु आन्दोलनमा योगदान गरेका महिलाहरूको फोटो पुस्तक विमोचन

३० बैशाख २०८०, शनिबार
थारु आन्दोलनमा योगदान गरेका महिलाहरूको फोटो पुस्तक विमोचन

कैलाली । थारु आन्दोलनमा महिलाहरूले खेलेको भूमिकाको सम्मानमा थारु आन्दोलनका महिला नामक फोटो पुस्तक विमोचन गरिएको छ ।
महिला अधिकारको क्षेत्रमा काम गर्ने संस्था लुम नेपालले प्रकाशन गरेको सो पुस्तकको शुक्रबार सुदूरपश्चिम प्रदेशकी उप–सभामुख कोइली देवी चौधरीले एक कार्यक्रमका बिच विमोचन गरिन् ।
विभिन्न थारु आन्दोलनमा आफू जस्तै थारु महिलाहरूको भूमिकालाई ऐतिहासिक दस्ताबेजका रूपमा सुरक्षित गर्ने काम गरेको भन्दै उनले लुम नेपाललाई धन्यवाद दिइन् ।
थारु मात्र होइन देशका सबै महिला अझै पनि पछाडि छन् । उनले भनिन्,… ‘नेपालका हरेक आन्दोलनमा महिलाहरू प्रयोग हुने तर इतिहास पुरुषको मात्रै बन्ने अभ्यासका बिच महिला सशक्तीकरणमा लुम नेपालले थालेको अभियान ऐतिहासिक छ । अरूले यसको सिको गर्न पनि आवश्यक छ । यती मात्र होइन कुनै पनि वर्ग, समुदायमा विभाजित नभई अधिकारका लागी महिलाहरू एकताका साथ अघि बढ्नु पर्ने अहिलेको आवश्यकता हो ।’
सन २०१६ देखि महिला अधिकारका क्षेत्रमा काम गरी पहिचान बनाएका महिला अधिकारकर्मीहरूको इतिहासको अभिलेखीकरण गर्ने काम सुरु गरेको लुम नेपालकी उपाध्यक्ष पुष्पा जोशीले बताइन् ।
‘सन २०१९ देखि थारु आन्दोलनमा सक्रिय बनि योगदान दिएका १५ देखि २० जना सम्मको इतिहास अभिलेखीकरण गर्दै आएका छौ । सोही अनुरूप हामीले फोटो पुस्तक निर्माण गरेका हौ,’ उनले भनिन् ।
१६ फोटो एल्बम नाम दिइएको उक्त पुस्तकमा थरुहट तथा मुक्त कमैया आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेका १६ जना थारु महिलाको फोटो तथा इतिहासको अभिलेख समावेश गरिएको छ ।