मोबाइल फोनमा साउनदेखि कर लाग्ने, दर्ता नगरी नचल्ने


काठमाण्डौं, २२ असार । आगामी साउन १ गतेबाट अवैध रूपमा विदेशबाट आयात गरिएको मोबाइल फोन ’नेपालमा नचल्ने’ नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ।मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा आएसँगै त्यस्ता फोन नियमन गर्न सकिने अधिकारीहरूले बताएका छन्।

त्यसबाहेक प्राधिकरणले हाल नेपालमा प्रयोगमा रहेका मोबाइल फोनहरूलाई पनि अनिवार्य दर्ता गर्न सर्वसाधारणहरूलाई आग्रह गरेको छ। नयाँ आउने मोबाइल फोनको हकमा भने दर्ता भएपछि मात्रै चल्नेछ। प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रका अनुसार मोबाइल फोन दर्ता गर्दा राज्यले प्राप्त गर्ने राजश्व वृद्धि हुनेछ र मोबाइल फोन सुरक्षित हुनेछ।

एउटाभन्दा बढी फोन ल्याउँदा व्यावसायिक हिसाबले फोन ल्याए सरह नै कर लागु हुने जनाएको छ ।फोनको मूल्यका आधारमा सुरुमा २.५ प्रतिशत अन्तस् शुल्क र त्यसपछि १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्ने छ ।

प्राधिकरणले नेपालको जनसङ्ख्याको लगभग ७० प्रतिशतले सक्रिय रूपमा मोबाइल प्रयोग गरिरहेका छन् भन्ने हिसाब गरेको र ती सबै फोन प्राधिकरणको प्रणालीमा सूचिकृत गराउने आफूहरूको प्रयास रहेको प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द  मिश्रले जानकारी दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *