धनगढी, १६ मंसिर । गृहमन्त्री ओमप्रकाश अर्यालले लोकतान्त्रिक पद्धतिमा निर्वाचन अपरिहार्य रहेको बताएका छन् ।

गृह मन्त्रालय र सुदूरपश्चिम प्रदेशको आन्तरिकम मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा धनगढीमा मंगलबार सुरु भएको सुदूरपश्चिम प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटनका क्रममा मन्त्री अर्यालले उक्त कुरा बताएका हुन् ।
गृहमन्त्री अर्यालले यो सरकारको मुख्य कार्यभार घोषित मितिमै भयरहित, स्वच्छ, स्वन्तन्त्र वातावरणमा निर्वाचन सम्पन्न गर्ने रहेको उल्लेख गर्दै उनले भने, ‘कुनै पनि वहाना र शंकामा निर्वाचन नहुनु पर्ने कारण नै छैन । यो निर्वाचन सम्पन्न गर्न सरकार कटिवद्ध छ । त्यसका लागि स्मपूर्ण शान्ति सुरक्षाको अवस्था तत्त अनुरुप मजवुद गरिँदै लागिएको छ ।’
यस्तै मन्त्री अर्यालले अहिलेको सरकारको प्रमुख दायित्व विधिको शासन, हस्तक्षेप मुखी प्रशासन र भ्रष्टाचार शून्य सहनशीलता अन्त्य नै रहेको उल्लेख गरे ।
‘कुशासन र वेथितिकाविरुद्ध जेन–जी युवाहरूले उठाएका माग र भाद्र २३ र २४ गतेको घटना पश्चात् सरकार र गृह प्रशासनले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन, सेवा प्रवाहको प्रभाकारिता र समन्वयात्मक कार्यमा निष्ठा पूर्वक कार्य गरिरहेका छौं’, मन्त्री अर्यालले भने ।
‘भाद्र २३ र २४ गतेको घटना पश्चात् सुरक्षा संयन्त्रहरूको कार्यसम्पादन दैनिक प्रशासनिक कार्यमा समेत असर परेको थियो। भौतिक पूर्वाधार, सवारी साधनमा क्षति पुगेको कारण नियमित कार्यहरूमा समेत प्रभाव परेकोमा अब हामी लयमा फर्केका छौं र सुरक्षाको अवस्था पनि सामान्य बनेको छ । सबैको प्रयास, सहयोग र रचनात्मक सुझावको लागि धन्यवाद दिन चाहन्छु।’
सरकारले सरोकारवाला सबैसँग वार्ता, संवाद र छलफललाई प्राथमिकता दिएको उनले बताए । ‘हामी कसैलाई काखा र पाखा नगरीकन सबैका कुरा सुन्छौं, सुनेका छौं र सुनिरहन्छौं । यो सरकार सबैको साझा भएको हुँदा सबैका भावनालाई समेट्दै चुनावमा होमिसकेको अवस्था हो । लोकतान्त्रिक पद्धतिमा निर्वाचन अपरिहार्य छ ।’
मन्त्री अर्यालका अनुसार चुनावको तयारीका सन्दर्भमा केही चुनौतीहरू बाहिर आएका छन् । ती चुनौतीहरू कतिपय मनोवैज्ञानिक पनि छन् । सरकार कानुन कार्यान्वयनमा प्रतिबद्ध रहेको, हत्या हिंसाको पक्षमा नरहेको, अराजकतालाई नियन्त्रण गर्न प्रतिबद्ध रहेको र सोही किसिमबाट संयन्त्रहरूलाई परिचालन गरिरहेको हुँदा यी मनोवैज्ञानिक सुरक्षाका चुनौतीका सन्दर्भमा ढुक्क हुन उनको आग्रह छ ।
सबै राजनीतिक दल, नागरिकहरूमा आह्वान गर्दै मन्त्री अर्यालले भने, ‘देश बनाउने अभिभारा सबैको हो प्रत्येक नागरिक यो राज्यका सदस्य हुन्। जसका लागी सरोकारवालासंगको समन्वय र सहकार्यलाई थप सुदृढ बनाइने छ।’
यस्तै गोष्ठीमा अध्यक्षता गर्नुभएका सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री कमल बहादुर शाहले राज्य सबै शक्ति एकीकृत भएर परिचालन हुँदै हाल निर्वाचनको वातावरण बनाउन लागेको जानकारी दिए। उनले सुरक्षा फौज नै देशको अन्तिम भरोसाको केन्द्रबिन्दु भएकोले उनीहरुको मनोवल बढाउन केन्द्र र संघ सरकारले उत्तिकै प्राथमिकता दिएको बताए ।
यस्तै, गोष्ठीको औचित्य बारे प्रकाश पार्दै गृह मन्त्रालयका सहसचिव काली प्रसाद पराजुलीले यस गोष्ठीको मुख्य औचित्य भनेको आउँदो चुनाव र त्यसका लागि गर्नु पर्ने थप शान्ति सुरक्षाको अवस्था सुधार गर्नु रहेको बताए।
यस्तै, आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले सरकारले देशभर सुरक्षाकर्मीको राम्रो उपस्थिति गराएर र उनीहरुको मनोवल बढाएर मात्रै सबै तहका सरकार अघि बढे आगामी चुनाव सम्भाव हुने बताए ।