धनगढी, १५ मंसिर । जिल्ला समन्वय समिति कैलालीकी प्रमुख टीकाकुमारी चौधरी भुल पुनस्र्थापनाबाट बञ्चित रहेका मुक्तकमैया र परिचयपत्र नपाएका मुक्तकमलरीहरुको पुनस्र्थापना तथा परिचयपत्रको व्यवस्था गर्न जरुरी रहेका बताएकी छन् ।

मुक्त कमैया महिला विकास मञ्च कैलालीको आइतबार धनगढीमा भएको १८औं वार्षिक साधारणसभा, छैठौ अधिवेशन तथा सामाजिक परिक्षण कार्यक्रमा उनले मुक्तकमैया, कमलरीको पुनस्र्थापना आवश्यक रहेको बताएकी हुन् ।
कार्यक्रमलाई सम्बोधनकै क्रममा उनले संस्थाले महिलाहरुका हक अधिकारका लागि गर्ने वकालत र पैरबीले धेरै महिला आफ्नो अधिकार बारे बोल्न सक्ने, महिला उद्यमी बनेर आर्थिक रुपमा सशक्त हुँदै गएको पनि बताइन् ।
गैरसरकारी संस्था महासंघका प्रदेश अध्यक्ष देवी प्रसाद खनाल गैरसरकारी संस्थाले गरिबी न्यूनिकरण र सचेतनाका कार्यक्रम संचालन गरेको बताए ।
वेसका केन्द्रीय उपाध्यक्ष यज्ञराज चौधरी संस्थाले मुक्तकमैया पुनस्र्थापना देखि लिएर जिविकोपार्जन, पैरवी तथा वकालतमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
मञ्चका संस्थापक अध्यक्ष कौशिला चौधरी १८ वर्षको दौरानमा धेरै समस्याका सामाना गरेको बताइन् । उनले, २०७२ देखि मुक्तकमैया, कमलरी पुनस्र्थापनाका च्याप्टर क्लोज भएको बेला आफूहरु प्रदेश ऐन बनाउनमा सहयोग गरि पुनः पुनस्र्थापनाका काम अगाडी बढाएको बताइन् ।
कार्यक्रममा संचारकर्मी प्रेम चौधरी संस्थाले मुक्तकमैया, कमलरीलाई मात्र नभइ सीमान्तकृत समुदायका महिला तथा पुरुषहरुको आर्थिकोपार्जनमा सहयोग पु¥याएर आर्थिक रुपमा शसक्त बनाउने अभियानमा ठुलो योगदान गरेको बताए ।
कार्यक्रममा नोखरी सजांल कञ्चनपुरकी सुनिता चौधरी संस्थाको योगदानले आफूहरु उद्यमी बनेर आर्थिक रुपमा बलियो बन्दै गएको बताइन् । कार्यक्रमको सञ्चालन संस्थापक अध्यक्ष कौशिला चौधरी र स्वागत मन्तव्य उपाध्यक्ष जानकी चौधरीले गरेकी थिइन् ।
संस्था २०६५ सालमा स्थापना भएर मुक्तकमैया तथा कमलरीहरुको न्यायिक पुनःस्थापना सहित आर्थिक सामाजिक अधिकार सुनिश्चतका लागि वकालत गर्दै आय आर्जनको अवसर सृजनाका लागि विभिन्न कार्यक्रम संचालन गर्दै आएको कार्यक्रम संयोजक इन्द्र चौधरीले बताए ।
संस्थाले कैलाली कञ्चनपुर, बर्दियामा मुक्तकमैया÷कमलरी महिला सशक्तीकरण, लैङिक समानता र महिला अधिकार, उद्यमशिलता र जिविकोपार्जन सुदृढीकरण, वकालत तथा पैरबी र वातावरण परिवर्तन तथा अनुकुलनका क्षेत्रमा काम गर्दै आएको छ ।
कार्यक्रममा मञ्चका कार्यक्रम संयोजक इन्द्र चौधरी, परियोजना अधिकृत चेतमान साउद र लेखा प्रशासन अधिकृत आरती चौधरी परियोजनाले गरेका गतिविधि प्रस्तुत गरेका थिए ।
यसै बिच मञ्चको अध्यक्षमा पुनः सीमा चौधरी दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन भएकी छन् । त्यसैगरि उपाध्यक्षमा बजारी चौधरी, सचिवमा सोनी चौधरी र कोषाध्यक्षमा कञ्चन कुश्मी चौधरी सर्वसम्मत रुपमा चयन भएका छन् ।
सदस्यमा क्रमशः माया कुमारी चौधरी, लक्ष्मी चौधरी, राजकुमारी चौधरी, लक्ष्मीकुमारी चौधरी र सुनिता चौधरी चयन भएका छन् ।