२१ कार्तिक २०८२, शुक्रबार November 7, 2025

सुरक्षित रुपमा बैदेशिक रोजगारमा जान सुझाव

११ पुष २०८०, बुधबार
सुरक्षित रुपमा बैदेशिक रोजगारमा जान सुझाव

धनगढी, ११ पुस । बैदेशिक रोजगारमा जाने जोकोही पनि सुरक्षित रुपमा जानुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
तरङ्गिनी फाउण्डेशनको आयोजनामा धनगढीमा भएको बैदेशिक रोजगार सम्बन्धी महिलाहरुको अवस्था विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले जोड दिएका हुन् । कार्यक्रमका सहभागिहरुले बैदेशिक रोजगारमा जाने जोकोइ पनि जान चाहेको देश, मेनपावर कम्पनी, काम लगायत अन्य चीजको जानकारी लिएर बैधानिक रुपमा वैदेशिक रोजगारमा जानु पर्ने सुझाव दिएका थिए ।
राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिमका प्रमुख हरि ज्ञवाली बैदेशिक रोजगारमा बैधानिक तरीकाले मात्रै जानु पर्ने सुझाव दिएका थिए । बैदेशिक रोजगारमा गएका अधिकांस व्यक्ति मेनपावर लगायत जान चाहेका देशको नियम कानून, भाषाको समस्याले धेरै दुःख भोग्नु परेको बताउँदै उनले देशको कानून, श्रम र भाषाबारे अनिवार्य रुपमा बुझ्नु पर्ने बताएका थिए ।
कार्यक्रममा बैदेशिक रोजगारबाट फर्केका महिलाहरुले बिदेशमा आफुले भोग्नु परेका दुःख कष्टबारे अनुभव सुनाएका थिए । धनगढी उपमहानगरपालिका वडा नम्बर १४ की सञ्जिता बुढामगरले बाध्यताले बैदेशिक रोजगारमा जानु परेको बताएकी थिइन् । साथै उनले बैदेशिक रोजगारमा गएर दुःख कष्ट भोगे पनि आफुले श्रम, पैसा र समयको महत्व बुझेको बताएकी थिइन् ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनीधी, संचारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार उन्नती चौधरीले गरेकी थिइन् ।