कैलाली, १६ पुस । थारुहरुको हक अधिकार तथा पहिचानका लागि संगठित भएर अघि बढ्नु पर्ने थारु अगुवाहरुले बताएका छन् ।
शनिबार धनगढीमा भएको एक कार्यक्रमका सहभागी थारु अगुवाहरुले थारु समुदायको हक अधिकार तथा पहिचानका लागि एकजुट भएर अघि बढ्नु पर्ने बताएका हुन् ।
अधिवक्ता जोहारीलाल चौधरी थारु समुदायका हक अधिकारका लागि उठाउनु पर्ने विषयबस्तु धेरै रहेको बताए । उनले थारु समुदायको हक अधिकार, पहिचान लगायत विभिन्न ठाउँमा प्रतिनिधित्वको सवालका विषयहरु धेरै रहेको बताए ।
अधिवक्ता चौधरीले राजनीतिक सवालमा चेतना र अग्रसरता भए पनि अझै पनि थारु समुदाय आफ्ना माग मुद्धा हक अधिकार र पाउनु पर्ने सेवा सुविधाबाट वञ्चित हुनु परेको बताए ।
‘थारु समुदाय आफ्ना हक अधिकार र पहिचानका लागि राज्य सामु उठाउनु पर्ने धेरै माग मुद्दा र विषयबस्तु रहेका छन्’, उनले भने–‘थारु समुदायमा राजनीतिक रुपमा चेतना तथा अग्रसरता बढे पनि अझै आफ्ना माग मुद्दा सम्बोधनका लागि आवाज उठाउन नसकेको अवस्था रहेको छ ।’
उनले जुनसुकै विचारधारा तथा नेतृत्वदायी भूमिकामा रहेका पार्टीका थारु नेतृत्वलाई थारु समुदायको हक अधिकार तथा पहिचानका लागि संगठित भएर आवाज उठाउन पनि औंल्याएका थिए ।
थारु अगुवा तथा पूर्व शिक्षक गुरुप्रसाद चौधरीले थारु समुदायका माग मुद्दा लिएर राजनीतिमा स्थापित हुने तर पछि उक्त मुद्दालाई नै ओझेल पारिनुले थारु समुदाय आफ्ना हक अधिकार पाउन नसेकेको बताए ।
उनले भने–‘चुनावका बेला थारु समुदायका हक अधिकार तथा माग मुद्दाको विषय धेरै उठ्ने गर्दछन् । उक्त माग मुद्दाले थारु समुदायका नेतृत्वकर्ता राजनीतिमा स्थापित पनि भएका छन् । तर उनीहरु आफ्ना पार्टी भन्दा माथि उठ्न नसक्नु र माग मुद्दा बारे सम्बन्धित ठाउँमा आवाज उठाउन नसक्नुले थारु समुदायका हक अधिकार तथा पहिचानका मुद्दा आझेल पर्दै गएको छ ।’
‘जबसम्म थारु नेतृत्वकर्ता आफ्नो पार्टी भन्दा माथि उठेर थारु समुदायका लागि आवाज उठाउन सक्तैनन्, तबसम्म थारु समुदाय आर्थिक, सामजिक, राजनीतिक रुपमा पछाडि त हुन्छौँ नै आफ्ना हक अधिकारबाट पनि वञ्चित नै हुन्छौँ’, उनले भने ।
धनगढी नगरपालिका स्तरीय भलमन्सा समितिका अध्यक्ष रोहित चौधरीले आफ्ना माग मुद्दाका लागि जुनसुकै संघसंगठनले क्रियाशिल भएर लाग्नु पर्ने बताएका थिए । थारु समुदायले आफ्ना हक अधिकारका लागि क्रियाशिल नभएकै कारणले विभिन्न माग मुद्दा सम्बोधन हुन नसकेको उनले बताए ।
कार्यक्रममा थारु अगुवा बुन्दीलाल चौधरीले थारु समुदायका हकअधिकारमा वकालत गर्ने संघ संगठनलाई क्रियाशिल बनाउनु पर्ने बताएका थिए ।
समाजसेवी धनबहादुर चौधरीले थारु समुदायले आफ्ना हक अधिकारका सवालहरु सम्बन्धित ठाउँमा स्पष्ट राख्न नसक्नुले अधिकारबाट वञ्चित हुनु परेको बताए ।
युवा अभियन्ता ठाकुरप्रसाद करिया प्रधानले थारु समुदायका हक अधिकारका सवालमा कार्ययोजना बनाएर उक्त कार्ययोजनालाई कार्यान्वयन गर्नु पर्ने आवश्यक रहेको बताए ।
कार्यक्रममा थारु नागरिक समाजकी सदस्य बसन्ती चौधरी थारु समुदायको हक अधिकारका लागि रणनीतिक रुपमा अघि बढ्नु पर्ने बताएकी थिइन् ।
शिक्षक राजकुमार महतोले थारु युवालाई थारु भाषा, कला तथा संस्कृति र आफ्ना हक अधिकारका विषयमा सचेत गर्न आवश्यक रहेको बताएका थिए ।
थारु कल्याणकारिणी सभा कैलालीका कार्यबाहक सभापति माधव चौधरीले थारु समुदायका हक अधिकारका लागि राम्रो सुझाव आएको बताए । उनले उक्त सुझावका आधारमा अगामी कार्ययोजना बनाएर अघि बढ्ने पनि बताए ।
थारु नागरिक समाज कैलाली अध्यक्ष दील बहादुर चौधरीले थारु समुदायका हक अधिकारका लागि सबै जना एकजुट हुन आवश्यक रहेको बताए । उनले हक अधिकार तथा अन्य विषय बस्तुमा पनि थारु समुदाय संगठित हुनु पर्ने बताएका थिए ।
कार्यक्रम थारु काल्याणकारिणी सभा कैलाली र थारु नागरिक समाज कैलालीको आयोजनामा भएको थियो ।