२२ भाद्र २०८१, शनिबार September 7, 2024

सुदूरपश्चिम प्रदेशसभा सदस्यले लिए शपथ

१५ पुष २०७९, शुक्रबार
सुदूरपश्चिम प्रदेशसभा सदस्यले लिए शपथ

धनगढी । सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभाको हलमा शुक्रबार दिउँसो १ बजे प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले शपथ गराएका हुन् । ज्येष्ठ सदस्यका रूपमा रावलले शुक्रबार नै प्रदेश प्रमुख देवराज जोशीसँग शपथ लिएका थिए ।
रावलले प्रदेश सभका अन्य ५२ सांसदलाई शपथ गराएका हुन् । ४६ जनाले नेपाली भाषा र ६ जनाले आफ्नो मातृभाषामा शपथ लिएका छन् । सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिन विभिन्न संस्कृति झल्किने पोसाकमा उपस्थित भएका थिए । नागरिक उन्मुक्ति पार्टीका पाँच जना र नेपाली कांग्रेसकी समानुपातिक सांसद गीता चौधरीले थारु भाषामा शपथ ग्रहण गरेका र अन्यले नेपाली भाषामै शपथ ग्रहण गरेका छन् ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा ३२ प्रत्यक्ष र २१ समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका सदस्य छन् । प्रदेशसभामा ६ दलको सहभागिता छ । १९ सिट ल्याएको नेपाली कांग्रेस प्रदेश संसद्मा सबैभन्दा ठूलो दलका रूपमा रहेको छ । तर शुक्रबारसम्मको अवस्थामा कांग्रेस ठूलो दल भए पनि प्रतिपक्षमा रहने निश्चितजस्तै छ । यसैगरी, ११ सिट ल्याएको माओवादी केन्द्र दोस्रो स्थानमा रहेको छ भने १० सिट ल्याएको एमाले तेस्रो स्थानमा छ ।
सुदूरपश्चिम प्रदेशसभामा चौथो दलका रूपमा नागरिक उन्मुक्ति पार्टी रहेको छ । उक्त पार्टीका ७ जना सांसद छन् । ४ जना सांसद रहेको एकीकृत समाजवादी पाँचौ स्थानमा छ भने प्रत्यक्षतर्फ नजिते पनि समानुपातिकबाट राप्रपाका एक जना सांसद निर्वाचित भएका छन् । त्यस्तै एक जना स्वतन्त्र सांसद छन् ।
नागरिक उन्मुक्ति पार्टीबाहेक अन्य दलले संसदीय दलको नेता चयन गरेका छैनन् । नागरिक उन्मुक्तिले रामेश्वर चौधरीलाई संसदीय दलको नेतामा चयन गरिसकेको छ । नयाँ गठबन्धन बनेपछि सरकारको नेतृत्वमा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र एमालेले दाबी गरिरहेका छन् ।