कैलाली । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिबाट निर्वाचित पाँचजना प्रदेश सभा सदस्यले थारु भाषामा पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् ।
प्रदेश सभा सचिवालयले आज साँझसम्म मातृभाषामा शपथ ग्रहण गर्नका लागि प्रदेश सभा सचिवालयमा जानकारी गराउन सूचना जारी गरेको थियो । त्यही सूचनाको आधारमा यहाँका प्रत्यक्ष निर्वाचित पाँचजना प्रदेश सभा सदस्यहरूले थारु भाषामा पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने प्रदेश सभा सचिवालयमा जानकारी गराएका छन् । आज नागरिक उन्मुक्तिको तर्फबाट दलका नेता रामेश्वार चौधरी र सांसद खुशीराम चौधरी प्रदेश सभा सचिवालयमा पुगेर आफ्नो पार्टीका पाँच जनाले थारु भाषामा शपथ ग्रहण गर्ने जानकारी गराएका हुन् ।
कैलालीका ५ वटा प्रदेश सभामा नागरिक उन्मुक्तिले प्रत्यक्ष तर्फ जित हासिल गरेको थियो । समानुपातिक तर्फ प्रदेश सभा सदस्य भएका टीका थापा र इन्दिरा गिरीले भने नेपाली भाषामै शपथ गर्ने भएका छन् ।
अहिलेसम्म नागरिक उन्मुक्तिका पाँच जनाले मातृभाषामा शपथ ग्रहण गर्ने जानकारी प्रदेश सभामा दिए पनि अन्यले भने अझै आधिकारिक जानकारी दिएका छैनन् । आज साँझसम्म समय भएको हुँदा अझै केही नाम दर्ता गराउन सम्पर्क आउन लागेको प्रदेश सभा सचिवालयका सचिव देव बहादुर बोगटीले जानकारी दिए ।