२६ आश्विन २०८१, शनिबार October 12, 2024

अग्नी पीडित विपतपुर मुक्त कमैयाका घर निर्माण सुरु

९ पुष २०७९, शनिबार
अग्नी पीडित विपतपुर मुक्त कमैयाका घर निर्माण सुरु

धनगढी। कैलालीको कैलारी गाउँपालिका ७ विपतपुर मुक्त कमैया शिविरस्थित अग्नी पीडित मुक्त कमैयाहरूको घर निर्माण सुरु भएको छ। २७ अग्नी पीडित मुक्त कमैयाका घर निर्माण सुरु भएको हो। सुदूरपश्चिम प्रदेश सरकार, ह्याबिटेड फर ह्युमानिटीको आर्थिक तथा ह्याबिटेडको साझेदार संस्था राष्ट्रिय दलित नेटवर्कको प्राविधिक सहयोग र स्थानीयको श्रमसहितको साझेदारीमा निर्माण सुरु गरिएको छ।
बस्ती निर्माण सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत हुन लागेको हो। शनिबार एक कार्यक्रमका बीच प्रदेश सरकारकी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले घरको शिलान्यास गरेकी हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको बस्ती विकास कार्यक्रमले विपन्न मुक्त कमैया परिवारलाई राहत हुनेमा विश्वास व्यक्त गरिन्। सुरक्षित आवासभित्र प्रवेश गरेको दिन सरकारको कार्यक्रमले सार्थकता पाउने भएकोले सबै पक्ष कार्यक्रम सफल पार्नमा लाग्नुपर्ने मन्त्री चौधरीको भनाइ छ।


कार्यक्रममार्फत स्थानीयले तोकिएको मापदण्ड अनुसार आफ्नो घर आफै बनाउने भएकोले लाभग्राहीलाई घर निर्माण अवधिसम्म रोजगारी पनि सिर्जना हुने बताइएको छ। कार्यक्रममा सुदूरपश्चिम प्रदेशका निवर्तमान सांसद विरमान चौधरीले तपाईहरुको आफ्नो घर मात्रै बन्दै छैन। तपाईहरु आफै मिस्त्री, श्रमिक भएकाले घर आफै बनाउने बिश्वास लिए। जसबाट निर्माण अवधिसम्म कामको लागि कहीँ जानु नपर्ने र सिकेको सिप पनी काम लाग्ने उनले बताए । त्यसकारण घरको संरचनाको गुणस्तरसँग सम्झौता नगर्न अनुरोध गरे।

२०७९ वैशाख गते सो मुक्त कमैया बस्तीमा आगलागी भएको थियो। बस्तीका २७ घर पूर्ण रुपमा जलेर नष्ट भएका थिए भने दर्जनौं घरमा आंशिक क्षति पुगेको थियो । कार्यक्रम अन्तर्गत भन्सासहित ३ कोठा र शौचालयसहितको २७ घर निर्माण गर्न लागिएको हो। जसमा प्रदेश सरकारको ९० लाख, ह्याबिटेड फर ह्युमनिटीको ५४ लाख र लाभग्राहीको ४१ लाख ९९ हजार ९९६ रूपैयाँ बराबरको लगानी रहने ह्याबिटेड फर ह्युमानिटीका इन्जिनीयर अनुपराज जोशीले जानकारी दिए । घर २०८० जेठ मसान्तभित्र बनाइसक्नुपर्ने छ ।

कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष दिपेन्द्र बम, पूर्व वडा अध्यक्ष कमल चौधरी, बरघर भलमन्सा, समाजसेवी वुद्धिजिवीहरुको उपस्थिति रहेको थियो ।