६ बैशाख २०८१, बिहीबार April 18, 2024

‘युवामैत्री नीति बन्नु पर्छ’

७ पुष २०७९, बिहीबार
‘युवामैत्री नीति बन्नु पर्छ’

धनगढी । प्रदेश नीति योजना आयोगका सदस्य डा. जगत बहादुर सिंह रावलले युवाहरुको हक अधिकार सम्बोधन हुने खालका युवामैत्री नीति बनाउनु पर्ने जोड दिएका छन् ।
बिहीबार धनगढीमा प्रदेश युवा परिषदको आयोजनामा भएको प्रादेशिक युवा नीति –मस्यौदा) माथि छलफल तथा राय सुझाव संक्रलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले तीनै तहका सरकारले युवाहरुको हकअधिकार सम्बोधन गर्ने गरि नीति बनाउनु पर्ने जोड दिएका हुन् ।
युवा नै देशको शक्ति भएको बताउँदै उनले युवा विना देशको विकास असम्भव रहेको बताए । उनले युवा शक्तिलाई सवल र सक्षम बनाउन शिक्षा, स्वास्थ्य, सीप तथा क्षमता विकास लगायत तालिममा लगानी गर्न र प्रदेशमै रोजगारीको वातावरण सृजना गर्नु पर्नेमा जोड दिए ।
‘युवा देशका शक्ति हुन, युवा विना देशको आर्थिक, सामाजिक, राजनीतिक सम्वृद्धि असम्भव छ’, उनले भने–‘यसका लागि तिनै तहका सरकारले युवा शक्तिलाई सवल र सक्षम बनाउन शिक्षा, स्वास्थ्य, सीप तथा क्षमता विकास लगायत तालिममा लगानी गर्नुका साथै स्वदेशमै रोजगारीको वातावरण सृजना गर्नुपर्छ ।’


कैलाली बहुमुखी क्याम्पसका स्ववियु सभापति चुडामणि भट्टले युवालाई उद्यमशीलतासँग जोडेर स्वदेशमै रोजगार बनाउन नीति ल्याउनु पर्नेमा जोड दिए । उनले भने–‘यहाँका युवा वेरोजगारीकै कारण भारत लगायतका खाडी मुलुक जाने गरेका छन्, उनीहरुलाई स्वदेशमै रोक्न उद्यमसिलतासंग जोड्ने खालका नीती ल्याउन र कार्यान्वयनमा जोड दिनुपर्छ ।’
युवा नेता समीर जोशीले युवा नीतीमा बेरोजगार युवाहरुलाई प्राथमिकतामा राख्नु पर्ने जोड दिए । उनले भने–‘विदेश गएका र कामबाट फर्केका युवाहरुलाई प्राथमिकतामा राखेर युवा नीति ल्याउनुपर्छ, विशेषगरी महिला, अपागंता भएका व्यक्ति लगायत सबैको हितमा नीति बन्नुपर्छ ।’
‘युवाको अधिकार दिगो विकास सम्बृद्धिका लागि उद्यमशीलता प्रर्वद्धन, सुदूरपश्चिममा युवाहरुको अर्थपुर्ण सहभागिता’ भन्ने नारा सहित सुदूरपश्चिम प्रदेशमा युवा नीति बनाउन लागिएको छ ।
युवा परिषद सुदूरपश्चिमले तयार पारेको मस्यौदामा उद्यमशीलता विकास गर्ने, उत्पादनशील काममा अभिपे्ररित गर्ने तथा रोजगारीको उचित वातावरण सिर्जना गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ ।
त्यसैगरि स्वास्थ्य, शारिरिक यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि सुचनामा युवाको पहुँच कायम गर्ने, प्रदेशको विकास र समृद्धिका लागि युवाको नितिगत र संरचना तहमा स्थानीय तह सम्म आर्थपुर्ण सहभागिता गराउने लगायत मस्यौदामा समेटिएका छन् ।
यस्तै दीगो विकास, शान्ति र समृद्धि सुनिश्चित गर्न प्रदेशका सबै तह र क्षेत्रमा युवाको क्षमता विकास, सशक्तिकरण, प्रतिनिधित्व एवं नेतृत्वदायि भूमिका सुनिश्चित गर्दै युवालाई समाज परिवर्तनको निर्णायक शक्तिका रुपमा विकास गरिने, युवामा अन्र्तनिहित प्रतिभा प्रस्फुटन एवं सीप र क्षमता विकासका लागि प्रदेश तथा स्थानीय तहमा युवा प्रोफाइल तयार, अद्यावधिक गर्दै विशेष लगानी मार्फत विज्ञान–प्रविधिको उच्चतम् उपयोग गर्न युवालाई वैज्ञानिक खोज, अन्वेषण, नवप्रवद्र्धन एवं अध्ययन–अनुसन्धानका लागि उचित वातावरण तयार गरी प्रोत्साहन गरिने, दिगो विकासका लागि वातावरण संरक्षण र विश्वव्यापी जलवायु परिवर्तन, जलवायु प्रदुषण, विपद् व्यवस्थापनमा युवाहरुकै नेतृत्व र सहभागिता सुनिश्चित हुने गरी कार्यक्रम सञ्चालन गरिने मस्यौदामा समेटिएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा प्रभावकारी एवं परिणाममूखि प्रदर्शन गर्न सक्ने गरी खेलाडीको वृतिविकासमा जोड दिदै कला र संस्कृतिलाई पर्यटन र मनोरञ्जनसँग जोडी खेलकुदको वैज्ञानिक र व्यावसायीकरण गरिने, अपांगता भएका, जोखीममा रहेका, अल्पसंख्यक तथा सिमान्तकृत लगायतका विशेष समुहका युवाहरुलाई प्राथमिकता प्रदान गरि सशक्तिकरण र अभिमुखीकरण मार्फत राष्ट्रिय विकासको मुलधारमा समाहित गरिने, युवाको विकासका लागी नेपाल सरकार प्रदेश सरकार स्थानीय तह, राजनितिक युवा सघं संगठन, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था, सहकारी, निजि क्षेत्र र दातृनिकाय संग समन्वय, सहकार्य र साझेदारी गरिने प्रदेश युवा नीतिको मस्यौदामा उल्लेख रहेको छ ।
कार्यक्रम प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष युवराज कुँवरको अध्यक्षतामा भएको थियो ।