धनगढी । सांसद् गंगाराम चौधरीले मौलिक पहिरन लगाएर सपथ ग्रहण गरेका छन् । कैलालीको निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित सांसद् चौधरीले अरुभन्दा पृथक पहिरन लगाएर सांसदको शपथ ग्रहण गरेका हुन् । उनले थारु समुदायको मौलिक पहिरन लगाएर शपथ ग्रहण गरेका हुन् ।
चौधरीले सेतो धोतीसहित खुट्टामा काठको पौवा र टाउकोमा कटौटी टोपी लगाएका थिए । नागरिक उन्मुक्ति पार्टी पहिचानवादी पार्टी रहेकाले थारु समुदायको पहिचान झल्काउन आफूले परम्परागत पहिरन लगाएर शपथ ग्रहण गरेको उनको भनाइ छ । आफूले पृथक पहिरन लगाउँदा सबैको ध्यान तानेको भन्दै उनले थपे,‘सभा हलमा जाने क्रममा जब टोक्र्याक टोक्र्याक मेरो पौवाको आवाज आयो । त्यो बेला सबैले मलाईमात्रै हेरे ।’
उनले आफ्नै खेतमा लगाइएको पप्लर प्रजातिको काठको पौवा शपथ ग्रहणमा लगाउनका लागि मिस्ट्रीलाई बनाउन लगाएका थिए । यसैगरी, टोपी पनि गाउँघरमै बनाएर लगाएको बताएका छन् । नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधित्व गरेका सांसद चौधरीसहित रन्जिता श्रेष्ठ चौधरी, अरुन चौधरी र नागरिक उन्मुक्ति पार्टीको समर्थन पाएर स्वतन्त्रबाट विजयी सांसद लालवीर चौधरीले मातृ भाषामा शपथ ग्रहण गरेका छन् ।
फोटोः अनलाइन खबरबाट