२४ कार्तिक २०८१, शनिबार November 9, 2024

पश्चिम सेती र पञ्चेश्वर चाँडै बन्छ : प्रम देउवा

२२ मंसिर २०७९, बिहीबार
पश्चिम सेती र पञ्चेश्वर चाँडै बन्छ : प्रम देउवा

कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती र पञ्चेश्वर परियोजना चाँडै बन्ने बताएका छन् ।
कैलाली उद्योग बाणिज्य संघद्वारा आयोजित सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले पश्चिम सेती र पञ्चेश्वर लगायत प्रदेशका ठूला राष्ट्रिय गौरवका परियोजनालाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन् ।
पञ्चेश्वर आयोजनाका लागि भारतका प्रधानमन्त्रीले पनि चासो दिएको र पश्चिम सेतीको पनि भारतीय कम्पनीले लाइसेन्स लिइसकेको उनले बताए ।


‘पश्चिम सेतीमा भारतीय कम्पनीले लाइसेन्स लिइसकेको छ, अब उक्त परियोजना चाँडै नै पुरा भएर सुदूरपश्चिम प्रदेश समृद्ध हुने विश्वास लिएको छु’, उनले भने ।
उनले यस क्षेत्रको विकासका लागि रानी जमरा सिचाई आयोजना, चमेलिया जलविद्युत आयोजना, दोधरा–चादनी सुख्खा बन्दरगाहा निर्माणको कामलाई पनि सरकारले प्राथमिकता दिएको बताए ।
उनले सुदूरपश्चिमको मुख्य ब्यपारिक क्षेत्र धनगढीमा भएको महोत्सवले यस क्षेत्रमा उत्पादन भएका वस्तुको बजारीकरणमा मद्दत पुग्ने बताए । उनले यहाँको कृषी तथा पर्यटकिय क्षेत्रको विकास गर्न सके समग्र प्रदेशको विकासमा फड्को मार्ने पनि बताए । उनले सुदूरपश्चिम पर्यटकीय सम्भावना बोकेको क्षेत्र पनि भएको बताए ।


महोत्सव उद्घाटनको अवसरमा प्रधानमन्त्री देउवालाई कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुवँरले १५ बुँदे माग सहित १५ किलोको माला लगाइएका थिए । २१ बुँदा सहितको माग राख्दै सुरु गरिएको महोत्सव केही माग पुरा भईसकेकाले मालाको तौल घटाइएको बताइएको छ ।
महोत्सव सुरुवात देखि नै संघले धनगढी अन्तर्राष्ट्रिय स्तरको क्षेत्रीय विमानस्थल, गेटा मेडिकल कलेज, पश्चिम सेती जलविद्युत आयोजना, औद्योगिक करिडोर, विशेष आर्थिक क्षेत्र, गौरिफन्टा सीमानाको स्तरोन्नती, धनगढी–दीपायल–बझाङ द्रुतमार्ग, सुख्खा बन्दरगाह, प्राविधिक कलेज, प्रदर्शनीस्थल, सितगृह, लगायतका प्रमुख माग प्रस्तुत गर्दै आएको छ ।
२०६३ सालदेखि महोत्सव सञ्चालन गर्दै आएको संघले अघिल्लो दुई वर्ष कोरोना महामारीका कारण महोत्सव आयोजना हुन सकेको थिएन । महोत्सवको यो १६ औं संस्करण हो ।
महोत्सवको पूर्व सन्ध्यामा आज बिहान धनगढी चौराह देखि महोत्सव स्थलसम्म बाजागाजा सहित प्रभात फेरीको आयोजना गरेको थियो ।
महोत्सवमा कृषि उपजका ११, होटलका २६, अटोमोवाइलका ११ तथा बैंक र वित्तीय संस्था, घरेलु उद्यम एवं व्यापारिक गरी चार सय बढी स्टल रहेका छन् ।