४ बैशाख २०८१, मंगलवार April 16, 2024

तरङ्ग रेकर्ड गरेर डल्फिनको वैज्ञानिक अध्ययन

२२ मंसिर २०७९, बिहीबार
तरङ्ग रेकर्ड गरेर डल्फिनको वैज्ञानिक अध्ययन

अविनाश चौधरी
धनगढी । कैलालीस्थित कर्णाली नदीमा तरङ्ग रेकर्ड गरेर डल्फिनको वैज्ञानिक अध्ययन गरिएको छ ।
हिउँदको बेला नदीमा डल्फिन रहे/नरहेको पुष्टि गर्नका लागि वन तथा भू–संरक्षण विभागको नेतृत्व तथा विश्व वन्यजन्तु कोष र डल्फिन संरक्षण केन्द्रको साझेदारीमा डल्फिनको वैज्ञानिक अध्ययन गरिएको हो । पानीभित्र डल्फिनको तरङ्ग थाहा पाउनका लागि ‘पेसिव मेसिन’ को प्रयोग गरिएको थियो ।
मान्छेले सुन्न छोडेको स्थानबाट यो मेसिनले सुन्न सुरु गर्ने गरेको जनाइएको छ । विश्वमै दुर्लभ गङ्गेटिक प्रजातिको डल्फिनले पानीमा तरङ्ग छोड्ने गर्दछन् । डल्फिनले पानीभित्र आवाजको तरङ्गमार्फत आफ्नो मार्ग सुनिश्चित गर्ने, आहारा प्रजातिको पहिचान, खतराको पूर्व आकलन, समूहको साथ साथ रहने र सम्भावित अप्ठ्याराकोबारेमा जानकारी लिने गर्दछन् । डल्फिनले आफ्नो निधारबाट छोडेको आवाज र तरङ्गलाई यो मेसिनले मेमोरी कार्डमा रेकर्ड गर्ने गरेको जनाइएको छ । पानीमा डुबाएपछि मेसिनले डल्फिनको तरङ्ग ग्रहण गर्ने गर्दछ ।


२०/३० वर्ष पहिले देखिएका ठाउँमा अहिले डल्फिन रहे वा नरहेको पुष्टि गर्नका लागि यहाँ पहिलो पटक पेसिव मेसिनको प्रयोग गरेर अध्ययन भएको संरक्षणकर्मी विजयराज श्रेष्ठले जानकारी दिए । उनले टीकापुर नगरपालिका–८,स्थित अर्नहवाफाँटा नजिक कर्णाली नदीमा मेसिन हाल्ने बेलामै तीन वटा डल्फिन प्रत्यक्ष रूपमा देखा परेको जानकारी दिए ।
‘डल्फिनको तरङ्ग रेकर्ड गर्नका लागि मेसिन हाल्ने क्रममा नदीमा प्रत्यक्ष रूपमै तीन वटा डल्फिन देखिए’, श्रेष्ठले भने, ‘हामीले डल्फिन त देख्दै आएका छौँ। तर, वैज्ञानिक रूपमा पुष्टि गर्न अध्ययन गरिएको छ।’
मेसिनको प्रयोग, जडान, तथ्याङ्क सङ्कलन र प्राप्त तथ्याङ्कको विश्लेषणबारे विज्ञद्वय इङल्याण्डका मिक र युक्रेनकी जुलिले प्रशिक्षण दिएका थिए ।
वर्षायाममा कर्णालीका सहायक नदी मोहना, पथरैया, काँढा, कान्द्रामा डल्फिन पुग्ने गर्दछन्। पानीको सतह घटेपछि फेरि कर्णालीतिर फर्कने गर्दछन्। कैलालीमा ज्येष्ठ नागरिक भोजराज श्रेष्ठको नेतृत्वमा समुदायबाट डल्फिन संरक्षणको कार्य हुँदै आएको छ। वर्षा याममा मोहना, पथरैया, काँढा र कान्द्रा नदीमा पनि पेसिव मेसिन प्रयोग गरेर डल्फिनको अध्ययन गरिने श्रेष्ठले बताए ।
गोरखापत्रबाट