धनगढी, ७ मंसिर । धान बिक्री नभएपछि कैलालीका किसान समस्यामा परेका छन् । धान बेचेर गहुँको बीउ र मलको जोहो गर्दै आएका कृषक यसवर्ष धान बिक्री गर्न नपाएपछि समस्यामा परेका हुन ।
खाद्य, व्यवस्था तथा व्यापारी कम्पनी लिमिटेड र व्यापारी दुईटैले धान खरिद नगरिरहेको किसानको भनाइ छ । कतिपय व्यापारीले खरिद गरे पनि सरकारले तोकेको समर्थन मूल्यभन्दा एक हजार रुपियाँ कममा धान खरिद गरेका छन् ।
खाद्यले पहिलो चरणको कोटाभन्दा बढी धान खरिद गरिसकेको छ । दुई हप्ताभित्रै कोटाभन्दा बढी धान आएपछि सो कार्यालयले धान खरिद कार्य रोकिसकेको छ । काम नचलेपछि कतिपय किसान बाध्य भएर फेरी सस्तोमा व्यापारीलाई धान बिक्री गर्न गइरहेका छन् ।
कैलारी गाउँपालिका–७ का कृषक फूलराज चौधरीले यसवर्ष धान नै बिक्री गर्न नपाएको गुनासो गरे । उनले गहुँ छर्ने सिजन सकिनै लाग्दासम्म धान बिक्री गर्न नपाउँदा समस्या भएको बताए । अर्का कृषक हरिराम चौधरीले व्यापारीले सस्तोमा पाएपछिमात्रै धान खरिद गरिरहेको जिकिर गरे ।
खाद्यले यसवर्ष कैलालीको छ वटा खरिद केन्द्रबाट धान खरिद गरेको थियो । असोज १२ गतेबाटै धान खरिद कार्य थालेको सो कार्यालयले दुई हप्तामै कोटाभन्दा बढी ३७ हजार ५५.९१ क्विन्टल धान खरिद गरेको छ । यस वर्ष कैलालीका लागि ३५ हजार क्विन्टल धान खरिद कोटा निर्धारण गरिएको थियो । तर, कुपन वितरण गर्दा किसानले भनेको परिमाणभन्दा ल्याएको धान बढी भएपछि कोटाभन्दा बढी खरिद गर्नु परेको खाद्यका प्रमुख दीपक थापाले बताए ।
उनले बजेट नरहेका कारण अहिलेलाई थप धान खरिद गर्न नसक्ने उल्लेख गर्दै भने, “दोस्रो चरणको खरिद कोटाका लागि गृहकार्य गरिरहेका छौं । तर, दोस्रो चरणको कोटा आउने वा नआउने निश्चित छैन ।”
यसवर्ष व्यापारी, सहकारी, मिलसंग गतवर्षकै धान अझै बाँकी रहेको कारण तिनीहरुले पनि खरिद गर्न नसकेको खाद्यले जनाएको छ । व्यापारीले धान खरिद नगर्दा खाद्यले निकै भीडभाडका बिच कोटानुसार धान खरिद गरेको थापाले बताए ।
गत आर्थिक वर्षमा कैलालीको लागि ५५ हजार कोटा आउँदा खाद्यले माघसम्म ३४ हजार ५०१ दशमलव ४ क्विन्टलमात्रै धान खरिद गर्न सकेको थियो । त्यसको अघिल्लो वर्ष पनि ५५ हजार कोटा आएकोमा १ हजार क्विन्टल धानमात्रै खरिद भएको थियो ।
यसवर्ष खरिद कोटा कम भएपछि किसानले बिक्रीका लागि बढी धान ल्याएको खाद्यको भनाइ छ । धान बिक्री गरेका किसानलाई खाद्यले बैङ्कमार्फत भुक्तानी गरिरहेको छ ।
धान उत्पादन घट्यो
कैलालीमा यसवर्ष धान उत्पादन घटेको छ । गतवर्षको तुलनामा यसवर्ष करिब ७ प्रतिशतले धान उत्पादन घटेको हो ।
कृषि ज्ञान केन्द्रका अनुसार यसवर्ष करिब २२ हजार १८६ मेट्रिकटन धान घटेको छ । गतवर्ष प्रति हेक्टरमा ४.७ प्रतिशतको दरले तीन लाख १६ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यसवर्ष दुई लाख ९४ हजार मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख टेक विष्टले बताए । उनले पटके खडेरी, मल अभाव र सिँचाइमा विद्युत आपूर्ति कमीका कारण गतवर्षको तुलनामा धान उत्पादनमा कमी आएको उल्लेख गरे । “बेलैमा पर्याप्त मात्रामा मल, पानी नपाउँदा धान उत्पादन राम्रो हुन सकेन”, विष्टले भने । कैलालीमा ६८ हजार हेक्टर जमिनमा धानखेती गरिएको थियो ।