अत्तरिया, ५ मंसिर । कैलालीको अत्तरिया स्थित अत्तरिया हस्पिटल प्रालिले क्याथ ल्याब सेवा सुरु गरेको छ । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक हस्पिटलले मुटुका बिरामीका लागि अत्याधुनिक क्याथ ल्याब सेवा सुरु गरेको हो । शुक्रबार एक कार्यक्रमका बिच क्याथ ल्याब सेवाको उद्घाटन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथी एवं बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. यादव भट्ट र हस्पिटलका संस्थापक रघुनाथ पाठकले क्याथ ल्याब सेवाको संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका हुन् ।

क्याथ ल्याब सञ्चालनमा ल्याएसँगै यस क्षेत्रका मुटुका बिरामीका लागि उपचारका लागि सहजता हुने हस्पिटलका अध्यक्ष डा. आनन्द पाठकले बताए । यसका साथै उनले प्रदेशका नागरिकले अब उपचारका लागि काठमाडौँ लगायत भारतका विभिन्न शहर धाउनु पर्ने बाध्यताको अन्त्य हुने बताए ।
१५ करोड रुपैयाँ बढी लगानीमा हस्पिटलले क्याथ ल्याब सेवा सञ्चालन गरेको जनाएको छ । क्याथल्याब सेवा सुरु भएपछि मुटु सम्बन्धी जटिल समस्या– शल्यकर्म बिना पेसमेकर जडान, बन्द भल्भ खोल्ने, मुटुका प्वाल टाल्ने, एन्जियोग्राफी–एन्जियोप्लास्टी जस्ता सुविधाहरू स्थानीय स्तरमै उपलब्ध हुनेछन् ।

प्रा. डा. भट्टका अनुसार, हस्पिटलले प्रदेशकै पहिलो पूर्ण क्षमताको मुटुरोग सेवा प्रारम्भ गरेर दीर्घकालीन स्वास्थ्य सुरक्षा दिशामा महत्वपूर्ण कदम चालिएको बताए । अब सुदूरपश्चिमका बिरामीले समय, पैसा र जोखिम बढाउने लामो यात्राबाट मुक्ति पाउनेछन् । आपत्कालीन मुटु उपचारमा ‘गोल्डेन आवर’ अत्यन्त महत्वपूर्ण हुने भएकाले अत्तरियामै सेवा उपलब्ध हुनु प्रदेशकै स्वास्थ्य क्षेत्रमा क्रान्तिकारी प्रारम्भ मानिएको छ । अस्पतालले क्याथ ल्याब सँगै अन्य महत्त्वपूर्ण सेवा थप गर्दै जाने योजना रहेको जनाएको छ ।