७ फाल्गुन २०८२, बिहीबार February 19, 2026

कैलालीमा ३७ हजार क्वीन्टल बढी धान खरिद

४ मंसिर २०८२, बिहीबार
कैलालीमा ३७ हजार क्वीन्टल बढी धान खरिद

धनगढी, ४ मंसिर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलालीमा कोटाभन्दा बढी धान खरिद गरेको छ ।
यसवर्ष पहिलो चरणमा ३५ हजार क्वीन्टल धान खरिदको कोटा पाएको खाद्यले ३७ हजार ५५ दशमलव ९१ क्वीन्टल धान खरिद गरेको हो । खाद्यले असोज १० गतेदेखि कैलालीमा छ वटा खरिद केन्द्रबाट धान खरिद कार्य सुरु गरेको थियो । दुई हप्ताभित्रै कोटा अनुसार धान आएपछि अन्तिमतिर कुपन बाँड्दै खाद्यले धान खरिद कार्य स्थगित गरेको थियो ।
कुपन वितरण गर्दा किसानले भनेको परिमाणभन्दा ल्याएको धान बढी भएपछि कोटाभन्दा बढी खरिद भएको प्रमुख दीपक थापाले बताए । उनले पहिलो चरणको धान खरिद कार्य सकिएको जनाउँदै अब दोस्रो चरणको खरिद कोटाका लागि गृहकार्य भइरहेको उल्लेख गरे ।
“उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको टोली रकमान्तर गरेर भए पनि दोस्रो चरणको खरिद कोटाको लागि गृहकार्य गरिरहेको छ”, थापाले भने,“दोस्रो चरणको कोटा आउन पनि सक्छ नआउन पनि सक्छ । निश्चित छैन तर, प्रयास भइरहेको छ ।”
खाद्यले धान खरिद गर्न स्थगित गरेपछि किसान समस्यामा परेका छन् । खाद्यलाई धान बेच्न नपाएका कतिपय किसानले गुजाराका लागि सस्तोमा फेरी व्यापारीलाई धान बिक्री गर्न बाध्य भएका छन् ।