धनगढी, ३ मंसिर । सुदूरपश्चिम प्रदेशमा १५ हजार १८६ नयाँ मतदाता थपिएका छन् ।
प्रतिनिधि सभा सदस्यको आगामी निर्वाचनलाई लक्षित गरेर असोज १० गतेबाट मतदाता नामावली दर्ता र अद्यावधिक गर्ने कार्य थालिएको थियो । मंसिर १ गतेसम्म प्रदेशभरी नयाँ मतदाताको सङ्ख्या १५ हजार नाघेको प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले जानकारी दिए ।
निर्वाचन कार्यालयका अनुसार यो डेढ महिनाको अवधिमा सबैभन्दा बढी कैलालीमा छ हजार ९३ नयाँ मतदाता थपिएका छन् । यस्तै, कञ्चनपुरमा तीन हजार ७२२, दार्चुलामा एक हजार १४९, अछाममा ९०६ नयाँ मतदाता थपिएका छन् । बझाङमा ५, बाजुरामा ७२७, बैतडीमा ६९५, डडेल्धुरामा ५३५ र डोटीमा ५०१ मतदाता थप भएको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
यसअघि २०७९ को निर्वाचनको बेला कैलालीमा सबैभन्दा बढी पाँच लाख ३४ हजार मतदाता रहेका थिए । यसैगरी प्रदेशभरी १६ लाख ७४ हजार मतदाता रहेका थिए । गत भदौमा जेनजी आन्दोलनको जगमा बनेको सरकारले प्रतिनिधि सभा विघटन गरेर आगामी फागुनमा निर्वाचनको घोषणा गरेको थियो । जेनजी आन्दोलनपछि नयाँ पुस्तामा बढेको राजनीतिक उत्साहका कारण युवाहरुले धमाधम मतदाता नामावलीमा नाम दर्ता गराइ रहेका छन् ।
निर्वाचन कार्यालयले उमेर समूह छुट्टयाउने नगरे पनि मतदाता नामावली दर्ता गराउन आउनेमा बढीजसो युवा देखिएकोे निमित्त प्रमुख भट्टले बताए । “मतदाता नामावली दर्ता गराउन आउनेमा बढी युवा नै छन्”, उनले भने ।