धनगढी, २६ कात्तिक । कैलालीको घोरीघोरा मन्दिर परिसरमा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव हुने भएको छ ।
थारू समुदायको परम्परागत लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव अगामी मंसीर ९ गतेदेखि तीन दिनसम्म हुने भएको हो । घोरीघोरा नगर भलमन्सा कार्य समिति, सन्त समागम समाज र घोडाघोडी तथा संस्कृति संरक्षण समाजको संयुक्त आयोजनामा पूजा तथा सांस्कृतिक महोत्सव हुने भएको हो ।
लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव बारे मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । आयोजक समितिका संयोजक एवम् नगर भलमन्सा कार्य समितिका अध्यक्ष बुधराम चौधरीले लवाङ्गी पूजा र महोत्सवका लागि तयारीमा जुटेको बताए ।
उनले थारू समुदायको परम्परागत मौलिक संस्कृतीसँग लवाङ्गी पूजा जोडिएकाले यसको संरक्षण र प्रचारप्रसारका लागि सांस्कृतिक महोत्सव आयोजना गरिएको जानकारी दिए । संयोजक चौधरीले यस पर्वले थारू समुदायको धार्मिक तथा सांस्कृतिक पहिचानलाई सुदृढ गर्न, युवापुस्तामा हस्तान्तरण गर्न र कला–संस्कृतिको संरक्षणमा सहयोग पुग्ने बताए ।
कार्यक्रमलाई भव्यरूपमा सपन्न गर्न १७ सदस्यीय मूल आयोजक समिति बनाइएको संयोजक चौधरीले जानकारी दिए । महोत्सवमा थारू समुदायको झाँकी, बर्कानाच, सखिया नाच, मुङ्ग्रहुवा नाच, कठघोरी नाच लगायतका नृत्य प्रस्तुति तथा थारु कलाकारको विशेष प्रस्तुति रहनुका साथै थारू समुदायको परम्परागत खानाका परिकारको प्रचार–प्रसारका साथै बजारीकरण गरिने छ ।
सन्त समागम समाजका अध्यक्ष कप्तान चौधरीले पूजा कार्यक्रममा कैलालीका एक सय ७३ गाउँका भलमन्सा, गुरुवा र चिराकीहरूको सहभागिता हुने उल्लेख गरे ।
थारू समुदायले पराम्परागत रूपमा नयाँ बाली घरमा भित्र्याइपछि पहिले देवतालाई चढाएर मात्र उपभोग गर्ने चलन छ । लवाङ्गीको अर्थ नयाँ रहेको र विशेषगरी नयाँ अन्न देउतालाई चढाएर मात्र खाने चलन भएकाले लवाङ्गी पूजा गर्ने चलन रहेको समाजका अध्यक्ष एवम् आयोजक समितिका सदस्य कप्तान चौधरीले जानकारी दिए ।
गाउँ घरमा व्यक्तिगत तथा सामूहिकरूपमा गरिने यस पूजा पछिल्लो दुई दशक यता घोरीघोरा मन्दिरमा भव्य रूपमा सांस्कृतिक महोत्सवको आयोजना गरी मनाउन थालिएको छ ।
पश्चिम नेपालका थारू समुदायको ठुलो देवथानको रूपमा घोरीघोरा मन्दिरलाई लिने गरिन्छ । लवांगी पूजाको अघिल्लो रात थारू गुरुवाहरूले ढाक बजाउने र विहान अर्थात पूजाका दिन बिहान मन्दिरमा देउतालाई छाँकी (रक्सी), चढाई कुखुरा, सुँगुर लगायत पशु बलि दिने गरिन्छ ।