२० मंसिर २०८१, बिहीबार December 5, 2024

पौराणिक गितवाँसको पुस्तान्तरण र दस्तावेजीकरण आवश्यकः मन्त्री रामेश्वर चौधरी

१० मंसिर २०८०, आईतवार
पौराणिक गितवाँसको पुस्तान्तरण र दस्तावेजीकरण आवश्यकः मन्त्री रामेश्वर चौधरी


जोशीपुर । कैलालीको जोशीपुर बजारमा खुल्ला साँस्कृतिक नृत्य प्रतियोगिता सम्पन्न गरिएको छ। “भाषा, कला, संस्कृति हाम्रो पहिचान, पर्यटन प्रवद्र्धन र दस्तावेजीकरण गर्ने हाम्रो अभियान” मूल नारा रहेको कार्यक्रम यूवा सञ्जालका अध्यक्ष सन्तोष वि.क. को सभाध्यक्षतामा सम्पन्न भएको थियो । यूवा सञ्जाल जोशीपुरको आयोजनामा सम्पन्न भएको कार्यक्रमलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी प्रमुख आथित्यको रुपमा सम्बोधन गर्नु भएको थियो ।
कला, संस्कृति, भेषभूषा हाम्रो पहिचान हो र यसलाई जोगाउनका निमित्त हरेक समुदायले प्रयास र प्रयत्न गर्नुपर्छ भन्ने वहाँको भनाई रहेको थियो । “पौराणिक गितवाँस अवको पुस्तामा पुस्तान्तरण गर्न आवश्यक छ । दस्तावेजीकरण गर्न आवश्यक छ । संरक्षित गर्न अवश्यक छ ।” वहाँले भन्नु भयो ।
आफु भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रहिरहँदा प्रदेश सरकारले कृषकहरुका लागि तमाम कृषि प्याकेज ल्याएको तर कृषकहरु कहाँ यसको सूचना अफै पनि पुग्न नसकेकोमा दुःख व्यक्त गर्दै बास्तविक कृषकहरु अझै पनि सरकारी सेवा सुविधा अनुदानबाट बन्चित रहेको पनि वहाँले बताउनु भयो ।
त्यसै गरि कार्यक्रमका बिशिस्ट अतिथि जानकी गाउँपालिका निवर्तमान उपाध्यक्ष उमा महतोले युवाहरु परिवर्तनका मूल बाहक रहेको र समाज एवं राष्ट्रको सांस्कृतिक, ऐतिहासिक तथा पौराणीक बस्तु को खोज अनुन्धान गरी यसको पर्यटकीय प्रवद्र्धन र विकासमा यूवा सञ्जाल जोशीपुर प्रयासरत रहेकोमा धन्यवाद ज्ञापन गर्नु भयो । चुनावको समयमा मात्र कलाकार तथा यूवाहरुलाई जोशीपुरका जनप्रतिनिधिहरुले प्रयोग गरेको बताउदै ७ वर्ष देखि ६५ वर्ष सम्मका बाजे बज्यै आफ्नो संस्कृति प्रदर्शन गर्न आएको वृहत साँस्कृतिक कार्यक्रममा स्थानिय सरकारको उपस्थिति नै नहुनु विडम्बना रहेको पनि वहाँले बताउनु भयो ।
त्यसैगरि स्वतन्त्र विद्यार्थी यूनियन कैलाली बहुमुखि क्याम्पस सभापति श्री यम राज जोशीले थारु बाहुल्यता रहेको यस जोशीपुरमा सांस्कृतिक संग्रहालय बनाउनु पर्छ र यहाँका संस्कृतिलाई पर्यटनसँग जोड्नु पर्छ भन्ने भनाई राख्नु भएको थियो ।
कार्यक्रममा हुर्डुङ्वा, झुम्रा, मुंग्रहुवा, मन्द्रहुवा, हुड्केली लगायत विभिन्न साँस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । सांस्कृतिक नृत्यको प्रतियोगितामा राम जानकी यूवा समाज जोशीपुर २ बरगदही प्रथम, गुरुवा बैडावा सोर्हिनिया समाज बर्दगोरिया द्धितीय र श्री सरस्वती मा.वि. लम्की चुहा तृतीय स्थान प्राप्त गरेको थियो । नृत्य मूल्याङ्कनकर्ताको रुपमा भवानी रेग्मी, सोमती थारु र सुधराम दहित रहेका थिए ।