२४ कार्तिक २०८१, शनिबार November 9, 2024

घोरीघोरा लवाङ्गी पूजा तथा थारू सांस्कृतिक महोत्सव (फोटो फिचर)

११ मंसिर २०७९, आईतवार
घोरीघोरा लवाङ्गी पूजा तथा थारू सांस्कृतिक महोत्सव (फोटो फिचर)

कैलाली । कैलालीको घोडाघोडीमा ‘घोरीघोरा लवाङ्गी पूजा तथा थारू सांस्कृतिक महोत्सव २०७९’ शनिबार देखि सुरु भएको छ । महोत्सवको कैलाली क्षेत्र नम्बर ३ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गंगाराम चौधरीले उद्घाटन गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रतिनिधिसभा सदस्य चौधरीले था थारूहरुको पहिचान परम्परा भेषभूषा र रीतिरिवाज बचाउनु पर्नेमा जोड दिएका थिए ।


घोडाघोडी नगर भल्मन्सा समाजका अध्यक्ष बुधराम चौधरीले था थारू समुदायले घोडाघोडीमा लवाङ्गीपूजा परापूर्वकालदेखि मनाइँदै आएको बताए । यो पर्वमा विशेषगरी थारू समुदायहरूले नयाँ बाली भित्र्याइसकेपछि उक्त अन्नबालीलाई प्रसादको रूपमा आफ्ना देवी देवतालाई चढाइने भएकाले पनि लवाङ्गी पूजाको महत्व रहेको अध्यक्ष चौधरीले बताए ।


घोडाघोडी तथा संस्कृति संरक्षण समाजका अध्यक्ष चन्द्र चौधरीको अध्यक्षतामा भएको महोत्सव उद्घाटन कार्यक्रममा घोडाघोडी नगरपालिका, बर्दगोरिया गाउँपालिकाका ८२ गाउँका भलभन्सा तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।


उद्घाटन कार्यक्रममा नवनिर्वाचित प्रदेश सभासदस्य खुशीराम चौधरी, नगरप्रमुख खडक रावत, उपप्रमुख गुलियादेवी डगौरा, वडाध्यक्षहरु लगायत सामाजिक संघ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।


कार्यक्रममा थारू संस्कृति भल्काउने झाँकी, परम्परागत नाच प्रदर्शन गरिएको थियो । दुई दिनसम्म चल्ने सो महोत्सवमा थारू झाँकी प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतीसँगै थारू सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत हुने आयोजकले जनाएको छ ।
घोडाघोडी नगरपालिका–१ स्थित घोडाघोडी मन्दिर परिसरमा घोडाघोडी तथा संस्कृति संरक्षण समाजको आयोजनामा सुरु भएको महोत्सव मंसीर १२ गते सोमबारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

फोटो : फोटो : जी स्माइल मोसन पिक्चर्स सुख्खड, कैलाली