कैलाली । कैलालीमा नागरिक उन्मुक्ति पार्टी सबैभन्दा ठुलो दल बनेको छ । कैलाली क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यमा तेस्रो जित निकालेसँगै ठुलो दल बनेको हो । क्षेत्र नम्बर २ बाट नागरिक उन्मुक्तिका उम्मेदवार अरुणकुमार चौधरी विजयी भएका छन् ।
चौधरीले नेकपा एमालेका झपटबहादुर रावललाई ५ हजार ७४३ मतान्तरले पराजित प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । चौधरीले २१ हजार ८७१ मत ल्याउँदा एमालेका रावलले १६ हजार १२८ मत पाएका छन् ।
तेस्रो स्थानमा रहेका माओवादीका भगत बडुवाले १५ हजार ११६ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका भरत सिहं वि.सि.(बुढाक्षेत्री)ले २ हजार ७८४, नेपाल मजदुर किसान पार्टीका रमेशकुमार रावलले ३१५ मत पाएका छन् । क्षेत्र नम्बर २ मा ६० हजार ६२९ मत खसेकोमा तीन हजार ६६४ मत बदर भएको छ । कैलालीमा नागरिक उन्मुक्ति पार्टीलाई यो तेस्रो जित हो ।
यसअघि क्षेत्र नम्बर १ बाट पार्टी अध्यक्ष रञ्जिता चौधरी र क्षेत्र नम्बर ३ बाट गंगाराम चौधरी विजयी भैसकेका छन् । क्षेत्र नम्बर १ मा कांग्रेसका उम्मेदवार रामजनम चौधरीलाई १२ हजार ३२३ मतान्तरले हराउँदै श्रेष्ठ निर्वाचित भएकी हुन् । श्रेष्ठले ३० हजार ४०४ मत पाउँदा राम जनमले १८ हजार ८ मत मात्र पाएका थिए । नेकपा एमालेका उम्मेदवार तपेन्द्र रावलले ५ हजार ९१० मत पाएका थिए ।
क्षेत्र नम्बर ३ मा गंगा चौधरीले २३ हजार १२० मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार कृष्ण कुमार चौधरीले १७ हजार ७४९ मत पाएका थिए । राप्रपाका वीरेन्द्र बमले ६ हजार ३४२ र नेकपा एमालेका गौरीशंकर चौधरीले ९ हजार ८७४ मत पाएका थिए । यहाँ ६३ हजार ४४० मत खसेको थियो । जहाँ ५९ हजार ७१९ सदर भएको थियो, भने ४ हजार २१ मत बदर भएको थियो ।
पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा क्षेत्र नम्बर ४ र ५ बाट क्रमशः नेपाली काँग्रेसका उम्मेदवार बीरबहादुर बलायर र डिल्लीराज पन्त विजयी भएका छन् ।
१० प्रदेश सभामा पाँच स्थानमा नागरिक उन्मुक्ति, तीन स्थानमा काँगे्रस, एकएक स्थानमा माओवादी केन्द्र र एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् ।
२०७४ सालको निर्वाचनमा गठबन्धन गरेका एमाले र माओवादी केन्द्रले प्रत्यक्षमा प्रतिनिधि सभामा २÷२ सिट जितेको थियो । प्रदेश सभामा एमालेका पाँच, माओवादीका दुई, काँग्रेसका दुई र तत्कालिन राजपाका एक सदस्य विजयी भएका थिए ।
नयाँ गठबन्धनमा लागेका माओवादी र एकीकृत समाजवादीले प्रदेश सभाको १÷१ सिटमा चित्त बुझाउनु परेको छ भने एक्लै लडेको नेकपा एमाले प्रतिनिधि सभा र प्रदेश सभामा प्रत्येक्ष तर्फ शून्यमा झरेको छ ।