२६ आश्विन २०८१, शनिबार October 12, 2024

कैलाली ५ मा गठबन्धनका उम्मेदवार विजयी

९ मंसिर २०७९, शुक्रबार
कैलाली ५ मा गठबन्धनका उम्मेदवार विजयी

धनगढी । कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा पाँच दलिय गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।
सुदूरपश्चिम प्रदेशको राजधानी रहेको धनगढी शहर समेत पर्ने क्षेत्र नम्बर ५ मा पाँच दलीय गठबन्धनका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा कांग्रेस र माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका हुन् ।
शुक्रबार बिहान सकिएको कैलाली ५ को मतगणनामा प्रतिनिधिसभातर्फ कांग्रेसका डिल्लीराज पन्त निर्वाचित भएका छन् । उनले २१ हजार ३ सय ९२ मत प्राप्त गरेका छन् । उनले एमालेका उम्मेदवार नारदमुनी रानालाई १ हजार ७१ मतको अन्तरले पराजित गरेका हुन् । एमालेका रानाले २० हजार ३ सय १८ मत प्राप्त गरेका थिए । यो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फ तेस्रो स्थानमा कांग्रेसका बागी उम्मेदवार पुष्करनाथ ओझा रहे । ओझाले ८ हजार ३ सय मत प्राप्त गरेका थिए । अर्का स्वतन्त्र उम्मेदवार जगदीश चौधरीले ७ हजार ४ सय ६० मत ल्याएका थिए ।
प्रदेशसभा सदस्यमा कैलाली ५ बाट कांग्रेस र माओवादीका उम्मेदवार निर्वाचित भएका छन् । कैलाली ५(२) बाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा कांग्रेसका प्रकाशबहादुर देउवा निर्वाचित भएका छन् । उनले ९ हजार ५९१ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी एमालेका दुर्गा जोशीले ६ हजार ३५१ मत पाए ।
कैलाली ५(१) मा प्रदेशसभा सदस्यमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । माओवादीका रमेश धामी ११९ मतको अन्तरले विजयी भएका हुन् । धामीले ९ हजार ३८७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नेपालु चौधरीले ९ हजार २६२ मत ल्याएका थिए ।