धनगढी । कैलाली क्षेत्र नम्बर ४ मा बाम लोकतान्त्रिक गठबन्धनबाट बिजयी भएका बिरबहादुर बलायरले ६ महिनाभित्रै सुदूरपश्चिम प्रदेशको राजधानी निर्माण सुरु हुने दाबी गरेका छन् ।
नेपाली काँग्रेस सुदूरपश्चिम सभापति समेत रहेका बलायरले बिजयी भए पश्चात सञ्चारकर्मीहरुसंग कुरा गर्दै ६ महिनाभित्रै राजधानी निर्माणको कार्य शुरु हुने दाबी गरेका हुन् ।
‘यहाँका जनताका समस्या समाधानका लागि मेरो जोड रहने छ’, बलायरले भने “विशेषगरी प्रदेशको राजधानी र गेटा मेडिकल कलेजका बिषयमा म गम्भिर छु, राजधानी ६ महिनाभित्रै निर्माण शुरु हुन्छ र गेटा मेडिकल कलेज पनि चाँडै नै सञ्चालन आउँछ, त्यसको लागि म प्रयत्न गर्नेछु ।”
बलायरले काम नलाग्ने मन्त्रालय नखाने बताएका छन् । बिना कामको मन्त्रालय म खान्न, उनले भने “यहाँका नागरिकको जिवनस्थर परिवर्तन गर्न सक्ने र यहाँको विकास गर्न सक्ने खालको मन्त्रालयको जिम्मेवारी लिन्छु, पार्टीले त्यो जिम्मेवारी मलाई दिन्छ भन्ने विश्वास रहेको छ ।”
कैलाली निर्वाचन क्षेत्र नं. ४ मा वाम गठबन्धनका तर्फबाट प्रतिनीधी सभा सदस्यमा बलायर निर्वाचित भएका हुन् । पूर्वमन्त्रीसमेत रहेका बलायरले पूर्वमन्त्री एवम् नेकपा (एमाले) का उम्मेदवार लेखराज भट्टलाई तीन हजार ५८४ मतान्तरले पराजित गरी प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् । विजयी बलायरले २६ हजार १७१ र पराजित भट्टले २२ हजार ५८७ मत प्राप्त गरेका छन् ।
यसअघि, बलायरले २०७० को संविधान सभाको निर्वाचन डोटीबाट बिजयी भएका थिए । पराजित भएका भट्टले भने २०६४ र २०७४ को निर्वाचन कैलाली–४ बाटै जितेका थिए । २०७० को निर्वाचनमा उनले नेपाली कांग्रेसका दीर्घराज भाटसंग पराजित भएका थिए ।
क्षेत्र नं. ४ मा प्रदेश सभा सदस्यतर्फ पनि वाम लोकतान्त्रिक गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । (क) मा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी र (ख) मा नेपाली कांग्रेसका प्रकाश बम विजयी भएका छन् ।