धनगढी । कैलालीको क्षेत्र नं. ३ मा नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि र प्रदेश सभा सदस्यमा क्लिन स्वीप गरेको छ ।
सो पार्टीबाट प्रदेश सभा सदस्यका लागि (क) मा घनश्याम चौधरी र (ख) मा खुशीराम डंगौरा थारु विजयी भएका छन् । सो क्षेत्रमा प्रतिनिधि सभा सदस्यमा गंगाराम चौधरी हिजो नै निर्वाचित भएका थिए ।
प्रदेश (क) मा चौधरीले गठबन्धन उम्मेदवार नेपाली कांग्रेसका खेमराज डंगौरालाई पराजित गरेका हुन । विजयी भएका चौधरीले १३ हजार ९२३ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनका डंगौराले ११ हजार ५७२ मत प्राप्त गरेका छन् । चौधरी दुई हजार ३५१ मतान्तरले विजयी भएका छन् ।
(ख) मा विजयी भएका थारुले सात हजार ५३९ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का अम्मरबहादुर साउँदले छ हजार ६१९ मत प्राप्त गरे । ९२० मतान्तरले थारु विजयी भएका छन् ।