२४ कार्तिक २०८१, शनिबार November 9, 2024

मतदान केन्द्रमा उम्मेदवारका प्रतिनिधिमात्र बस्न पाउने

२ मंसिर २०७९, शुक्रबार
मतदान केन्द्रमा उम्मेदवारका प्रतिनिधिमात्र बस्न पाउने

काठमाडौँ । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान केन्द्रमा प्रतिनिधि राख्दा उम्मेदवारको मात्रै प्रतिनिधि राख्ने निर्णय गरेको छ ।
यस अघिका निर्वाचनमा क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरूलाई मतदान केन्द्रमा राख्ने गरिएको थियो । प्रत्येक दलका प्रतिनिधि राख्दा मतदान केन्द्रमा भिडभाड हुने भएपछि यो पटक भने उम्मेदवारका प्रतिनिधि मात्रै राख्ने व्यवस्था गरेको हो ।
निर्वाचन आयोगको कात्तिक २९ गते सम्पन्न बैठकबाट प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन संशोधन सहित स्वीकृत निर्देशिका पारित गरेको थियो ।


निर्देशिका अनुसार प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्यको लागि पहिलो हुने निर्वाचन प्रणाली बमोजिम उम्मेदवारको तर्फबाट मात्रै सम्बन्धित उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधिले मतदान प्रतिनिधि नियुक्त गरी राख्न सक्ने व्यवस्था गरिएको छ ।
निर्वाचन आयोगले सबै जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा संशोधन गरेर पठाइएको निर्देशिका पठाइएको छ । सोही निर्देशिका अनुसार मात्रै मतदान केन्द्रमा प्रतिनिधि राख्न मतदान अधिकृतहरूलाई निर्देशन समेत दिइसकेको निर्वाचन आयोगका उपसचिव लक्ष्मी शर्माले जानकारी दिइन् ।
यो व्यवस्था अनुसार मतदान केन्द्रमा सम्बन्धित प्रदेश र संघमा उम्मेदवार नभएको राजनीतिक दलका प्रतिनिधिहरू बस्न पाउँदैनन् । सम्बन्धित उम्मेदवार वा निजको प्रतिनिधिको आधिकारिक हस्ताक्षर भएको पत्र पेस गरेपछि मात्रै मतदान केन्द्रमा प्रतिनिधि बस्न पाउने छन् ।