डडेल्धुरा । गठबन्धन अहिलेको आवश्यकता भएको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । गृहजिल्ला डडेल्धुराको भागेश्वर गाउँपालिका–४ बोगटामा आयोजित चुनावी सभालाई बुधबार सम्बोधन गर्दै प्रधामन्त्री देउवाले संविधान मिचिने खतरा बढेकाले गठबन्धन गरिएको बताए ।
संविधानको रक्षासँगै देशलाई समृद्ध बनाउन गठबन्धन अझै लामो समयसम्म गर्नुपर्ने आवश्यक रहेको उनको भनाइ छ । गठबन्धन जोगाउन मङ्सिर ४ गतेको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन उनले मतदातासँग अपिल गरे ।
उनले भने,‘तपाईंहरुलाई थाहा छ । केपी ओलीले संविधान मिच्न खोज्नुभयो । त्यो पनि दुई÷दुई पटक । उहाँहरुले गठबन्धनको सरकार बनाएपछि राजनीतिक स्थिरता होला, देशमा विकास होला, देश समृद्ध हुन्छ भन्ने तपाईं हामी सबैलाई लागेको थियो। तर, उहाँले उल्टो गर्नुभयो। दुःख गरेर बनाएको नयाँ संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेर देशमा फेरि राजनीतिक अस्थिरता ल्याउन खोजियो । त्यसकारण हामीले गठबन्धन गरेका हौँ । संविधान मिच्नबाट जोगायौं। विकास निर्माणका धेरै काम अघि बढेका छन् । अझै गठबन्धनलाई लामो समयसम्म कायमै राखेर हामी देशमा विकास गर्न चाहन्छौं ।’
चुनावी प्रचारप्रसारका लागि प्रधानमन्त्री देउवा बुधबार दोस्रो पटक गृहजिल्ला डडेल्धुरा पुगेर चुनावी सभालाई सम्बोधन गरेका हुन । उनले भागेश्वर गाउँपालिका विकट रहेको र प्रायः सबै गाउँमा सडक पुगेको उल्लेख गर्दै अब सडक कालोपत्र गरिने बताए । सदरमुकाम बागबजारदेखि बगरकोट–शीर्ष–रुपालसम्मको सडक कालोपत्र गर्ने काम भइरहेको उनको भनाइ छ । उनले भने,‘अब चाँडै बगरकोट–बोकटा–गर्खा–लामीकाँडे सडक कालोपत्र गर्नेछौँ ।’
खेतबारीमा सिँचाइको समस्या रहेको भन्दै उनले सिँचाइको व्यवस्था गर्ने र यहाँका गाउँबस्तीमा भएको खानेपानीको समस्या समाधान गर्ने बताए । ‘बोगटा गाउँमा एकघर एकधारा खानेपानी योजना सम्पन्न भएर खानेपानीको समस्या हटेको छ’, उनले भने,‘यसैगरी भागेश्वरका सबै गाउँलाई खानेपानीको समस्याबाट मुक्त बनाउँछु ।’
प्रधामन्त्री देउवाले बुधबार बोगटासँगै अमजयमेरु गाउँपालिका–५ को देवल र गन्यापधुरा गाउँपालिका–३ को सकायलमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका छन् ।
यता नेपाली कांग्रेसका नेता एवम् कैलालीको क्षेत्र नं. ५ (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार प्रकाश देउवाले गठबन्धनका सबै उम्मेदवारको जित निश्चित रहेको बताएका छन् ।
धनगढीमा बुधबार भएको युवा भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । देउवाले निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई नै भोट हाल्न आग्रह गरे । २०७४ को निर्वाचनमा भएका गल्तीहरुलाई सुधार गरेर सङ्घ र प्रदेश सबैतर्फ गठबन्धनका उम्मेदवारलाई जिताउन उनको आग्रह थियो ।
गठबन्धनका उम्मेदवारहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनमोर्चा र लोकतान्त्रिक समाजवादीको साझा उम्मेदवार रहेकाले जित्ने लगभग निश्चित रहेको उनको भनाइ थियो । ‘त्यसैले जित्ने उम्मेदवारलाई नै भोट हाल्न म सबैलाई आग्रह गर्दछु’, उनले भने,‘गठबन्धनका सबै उम्मेदवारलाई जिताउन जरुरी छ ।’
उम्मेदवार देउवाले मङ्सिर ४ पछि सङ्घ र प्रदेश सबैमा गठबन्धनकै सरकार बन्ने बताए । उनले क्षेत्र नं. ५ मा सबैभन्दा बलियो संगठन रहेको पार्टी नेपाली कांग्रेस रहेको भन्दै अगाडि थपे,‘जसको संगठन बलियो छ, चुनाव उसैले जित्ने हो । अझ हामीसंग गठबन्धन छ ।’
यो क्षेत्रबाट २०७४ को निर्वाचन जितेर एमालेले केही गर्न नसकेको देउवाको जिकिर थियो । त्यस्तै, स्वतन्त्र उम्मेदवार पनि आफ्नो लागि उठेको भन्दै उनले स्वतन्त्र जितेर केही गर्न नसक्ने बताए । ‘उहाँ (स्वतन्त्र उम्मेदवार) नेपाली कांग्रेसबाटै विभिन्न समय चुनाव जितेर विभिन्न पद्मा पनि पुग्नुभयो’, देउवाले अगाडि थपे,‘अहिले टिकट नपाएपछि स्वतन्त्र उठेको उहाँ जितेर पनि केही गर्न सक्नू हुन्न ।’
क्षेत्र नं. ५ मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यतर्फ डिल्लीराज पन्त र प्रदेश सभा सदस्यतर्फ (क) मा माओवादी केन्द्रका रमेश धामी र (ख) मा प्रकाश देउवा उम्मेदवार छन् ।