हसुलिया । कैलारी गाउँपालिकाले कृषकलाई अनुदानमा गहुँको विउ वितरण सुरु गरेको छ ।
गाउँपालिकाको समन्वयमा विश्व खाद्य संगठन नेपालको आर्थिक सहयोगमा उक्त विउ वितरण सुरु गरेको हो । सोमबार गाउँपालिकाकी उपाध्यक्ष भगवतीकुमारी चौधरीका प्रमुख आतिथ्य तथा वडा नम्बर ४ का वडा अध्यक्ष ठागुराम चौधरीको अध्यक्षतामा वडा–४ का कृषकहरुलाई गहुँ र मसुरको विउ वितरण गरेको हो ।
वडा नम्बर ४ का कृषकलाई ४ सय ८८ बोरा गहुँ र ९ बोरा मसुरको विउ वितरण गरेको वडा अध्यक्ष ठागुराम चौधरी जानकारी दिए ।
यसैगरि गाउँपालिकाको शत प्रतिशत अनुदानमा ३६ किलोका दरले ६ सय किसानलाई गहुँ र २ किलोका दरले १ सय ७० जनालाई मसुरको विउ पनि वितरण गरेको छ ।
विउ वितरण कार्यक्रममा कैलारी गाउँपालिका कृषि शाखा प्रमुख मैया चौधरी, वडा सदस्य लगायतकोे सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव श्रीप्रसाद चौधरीले गरेका थिए ।
गाउँपालिकाले वडा नम्बर ३ का कृषकलाई पनि बुधबार २ सय ७५ बोरा गहँुको विउ वितरण गरेको वडा अध्यक्ष सन्तराम चौधरी जानकारी दिए । गाउँपालिकाका आर्थिक सहयोगमा ५० प्रतिशत अनुदानमा एक बोराका दरले वितरण गरेको हो ।
वडा नम्बर २ मा पनि ३०० बोरा ५० प्रतिशत अनुदानमा गहुँको विउ वितरण गरेको वडा अध्यक्ष विकास चौधरीले जनाएका छन् ।
वडा नम्बर ५ मा ३२० बोरा गहुँको विउ वितरणका लागि सबै गाउँका भल्मन्साहरुसँग छलफल तथा रससल्लाह गरेको वडा अध्यक्ष विष्णुप्रसाद चौधरीले बताए । गाउँपालिकाको आर्थिक सहयोगमा आएको विउ ५० प्रतिशत अनुदानमा वितरण गर्ने उनले बताए । वडा नम्बर १, ६, ७, ८ र ९ मा पनि चाँडै नै वितरण गरिने जनाइएको छ ।