१० आश्विन २०८०, बुधबार September 27, 2023

गेटा मेडिकल कलेज सञ्चालनमा ल्याउँछौं : ओली

२७ कार्तिक २०७९, आईतवार
गेटा मेडिकल कलेज सञ्चालनमा ल्याउँछौं : ओली

कैलाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गेटा मेडिकल कलेजलाई सञ्चालनमा ल्याउने बताएका छन् । शनिबार कैलालीको अत्तरियामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै गेटा मेडिकल कलेजलाई विश्वविद्याल बनाएर सञ्चालनमा ल्याउने उनले बताएका हुन् ।
उनले भने, ‘सञ्चालनमा ल्याएर यही पढाइँ सुरु गर्छौ, शेरबहादुर देउवाजीले डडेल्धुराका डाँडामा विश्वविद्यालय लाने भन्नुभयो, डडेल्धुराका डाँडामा पछि लगौला, यहाँ संरचना बनेका छन्, यहाँ चलाउनु परेन’ उनले भने । डडेल्धुरामा सुविधा सम्पन्न अस्पताल निर्माण गरिने उनको भनाई छ । अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल यही चुनावबाट समाप्त हुने बताएका छन् । ‘एमाले सिद्धाउँछु भन्नेहरु आफै सिद्धिँदै गएका छन्, माधव नेपाल, प्रचण्ड लगायतका मान्छेहरु क्रमश सिद्धिँदै गएका छन्’, उनले भने ।
‘माधव नेपाल त यही चुनावबाटै समाप्तै हुन्छन् । माधव नेपालको पार्टी खरानीको डल्लो हो ।’२०७४ सालको निर्वाचनमा एमालेसँग तालमेल गर्दा माओवादी केन्द्रले ५४ सिट जितेको भन्दै ओलीले अहिले चोक्टा खान जाँदा झोलमा डुबेको जस्तो हुने बताए । ‘एमालेसँग तालमेल गर्दा ५४ सिट पाएको थियो, अहिले चोकटा खान गएको झोलमा डुबेको जस्तो भएको छ, ४४ कि ४५ सिट पाएको छ, आधा पनि जित्दैन’ ओलीले भने ।
अध्यक्ष ओलीले नेपालको पार्टी खरानीको डल्लो भएको र त्यसलाई पानीमा भिजाएर सुकाएपछि फ्याँसफुस हुने टिप्पणी गरे । उनले माधव नेपालले कम्युनिस्ट पार्टी एकता, ‘सुखी नेपाली, समृद्ध नेपाल’ लगायतका विषयमा गरेको अपराधको सजाय यहि निर्वाचनबाट पाउने बताए । मंसिर ४ गतेको निर्वाचनपछि एमालेको सरकार बन्ने उनको भनाई छ ।