२६ आश्विन २०८१, शनिबार October 12, 2024

पश्चिम सेती बनेपछि सुदूरपश्चिमको कायापलट हुन्छ : प्रम देउवा

२३ कार्तिक २०७९, बुधबार
पश्चिम सेती बनेपछि सुदूरपश्चिमको कायापलट हुन्छ : प्रम देउवा

बैतडी । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती परियोजना बनेपछि सुदूरपश्छिमको कायापलट हुने बताएका छन् ।
प्रधानमन्त्री देउवाले परियोजना निर्माण कार्यको सम्झौता भइसकेकाले परियोजना छिट्टै बन्ने बताए । भारतीय कम्पनीसँग सम्झौता गरेर पश्चिम सेती परियोजनाको काम अघि बढेको र यो निर्माण सम्पन्न भएपछि सुदूरपश्चिमको कायापलट हुने उनले दाबी गरे ।
बुधबार बैतडीको पाटनमा आयोजित लोकतान्त्रिक वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री देउवाले पश्चिम सेती निर्माणको काम अघि बढिसकेकाले ढुक्क हुन अनुरोध गरे ।
उनले भने– “पश्चिम सेतीको सम्झौता भएर अघि बढिसकेको छ । परियोजना सम्पन्न भएपछि पश्चिम सेतीको आम्दानी सुदूरपश्चिमको हुने भएकाले यो क्षेत्रको कायापलट हुन्छ ।”
यस्तै, प्रधानमन्त्री देउवाले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको काम पनि अघि बढ्ने दाबी गरे । पञ्चेश्वरको काम अघि बढाउन भारतीय प्रधानमन्त्रीसमेत इच्छुक रहेको जानकारी दिँदै प्रधानमन्त्री देउवाले पञ्चेश्वर परियोजनाले यो क्षेत्रमा कायापलट गर्ने उल्लेख गरे ।
सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले बैतडीवासीको महत्त्वपूर्ण मागका रूपमा रहेको झुलाघाटको मोटरेबल पुल बनाएर छोड्ने आश्वासनसमेत दिए । उनले बैतडीको पाटनमा बन्न लागेको नमुना सहरको ल्यान्डफिलको काम अघि बढाउन स्थानीयले सहयोग गरे छिट्टै नै नमुना सहर बन्नेसमेत बताए ।
चुनावी सभामा प्रधानमन्त्री देउवाले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएकाले सङ्घीयता, लोकतन्त्र र समावेशी मुद्दालाई बलियो बनाउन गठबन्धन दलका उम्मेदवारलाई भोट दिन आग्रह गरे ।