२० मंसिर २०८१, बिहीबार December 5, 2024

भूकम्पमा परि छ जनाको मृत्यु, सतर्क रहन भूकम्पविद्को आग्रह

२३ कार्तिक २०७९, बुधबार
भूकम्पमा परि छ जनाको मृत्यु, सतर्क रहन भूकम्पविद्को आग्रह

कैलाली । डोटीको पूर्विचौकी गाउँपालिका–३ गैरागाउँ बस्ने पदम बहादुर बोहरा लगायतका ८ वटा घरहरु भूकम्पको कारण गएराति भत्किँदा ६ जनाको मृत्यु भएको छ ।
मंगलबार बिहान २ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्नीच्यूडको भूकम्पले मृत्यु भएको हो । सुदूरपश्चिम प्रदेशको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु भएर ६.६ म्याग्नीच्यूडको भूकम्प गएको थियो ।
मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने पदम बहादुर बोहराकी श्रीमती ३० वर्षीया भगवती देवी बोहरा, उनकी छोरी १४ वर्षीया सिता बोहरा, उनको छोरा ८ वर्षीय हर्क बोहरा, सोही ठाउँ बस्ने ५० वर्षीय प्रेम बोहरा, प्रेम बोहराकी छोरी १४ वर्षीया तुल्सी बोहरा र सोही ठाउँ बस्ने १७ वर्षीया धनसरी बोहरा रहेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक भोला भट्टले जानकारी दिए ।
साथै घाइते भएका ८ जनामध्ये ४ जनालाई उपचारको लागि जिल्ला अस्पताल सिलगढी डोटीतर्फ पठाइएको छ भने अन्य ४ जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर र अन्यको सामान्य रहेको छ । भूकम्पमा परि घाईते भएका दुई जनालाई जिल्ला अस्पताल डोटीले धनगढी रिफर गरेको छ । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी ल्याइएको छ । पूर्वीचौकी गाउँपालिका–३ की ४० बर्षीया चना बोहरा र ५० वर्षीया बिष्ना बोहरालाई रिफर गरिएको जनाइएको छ ।
उक्त स्थानामा नेपाली सेना, जिल्ला प्रहरी कार्यालय डोटी, प्रहरी चौकी सानागाउँ र सशस्त्र प्रहरी बल नेपाल समेतबाट खटिएको संयुक्त टोलीले आवश्यक उद्दार कार्य गरिरहेको छ । क्षतिको विवरण भने अझै आउन बाँकी रहेको छ ।


सतर्क रहन भूकम्पविद्को आग्रह
राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोक विजय अधिकारीले सुदूरपश्चिमका बासिन्दालाई एकदुई दिन सतर्क रहन आग्रह गरेका छन् ।
उनले पछिल्लो पटक ६.६ म्याग्नीच्यूडको भूकम्प गएको र त्यो भन्दा पहिलाका पूर्व कम्पन भएको बताए । भूकम्प गई सकेपछि त्यसको असर केही दिन रहने हुँदा सतर्क रहन आग्रह गरे ।
मङ्गलवार राति ९ बजेर ७ मिनेटमा सोही ठाउँ केन्द्रबिन्दु बनाएर ५.७ म्याग्नीच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसपछि पाँच घण्टाको फरकमा पटक पटक गरी सात पटक भूकम्पको झट्का गएको थियो ।

प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार राति डोटीमा गएको भूकम्पमा परी ज्यान गएकाप्रति दुस्ख व्यक्त गरेका छन् । भूकम्पले घर भत्किँदा मृत्यु भएका छ जनाप्रति नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले दुस्ख व्यक्त गरेका हुन् ।
सुदूरपश्चिम गृहजिल्ला भएका प्रधानमन्त्री देउवाले भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्दारमा खटिन र घाइतेहरूको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको उल्लेख गरेका छन् ।
‘सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रबिन्दु बनाइ गएको भूकम्पमा परी मृत्यु हुनेहरूप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु’, सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री देउवा लेख्छन्, ‘भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्दारमा खटिन र घाइतेहरूको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छु ।’