८ बैशाख २०८१, शनिबार April 20, 2024

राष्ट्रिय जनगणना २०७८ : थरको पछाडि ‘थारु’ लेख्न अनिवार्य

२५ आश्विन २०७८, सोमबार
राष्ट्रिय जनगणना २०७८ : थरको  पछाडि ‘थारु’ लेख्न अनिवार्य

राम अवतार चौधरी
कपिलवस्तु ।
१२औँ राष्ट्रिय जनगणना २०७८ सम्बन्धी जनचेतना तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रम ‘हम्मन गणना, हम्मन सहभागिता’ भन्ने मूल नाराका साथ थारु कल्याणकारीणी सभा शिवराज नगरपालिका र थारु कल्याणकारीणी सभा विजयनगर गाउँपालिका कार्य समितिको आयोजनामा शनिबार कपिलवस्तुको चन्द्रौटामा जनचेतना तथा प्रशिक्षण कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

थारु कल्याणकारीणी सभा सदस्य जंजिर प्रसाद थारुले अहिलेको जनगणनामा थारु जातिहरुले आफ्नो थर ‘चौधरी, दहित, राना, गच्छेदार, कठरिया, रौतार र महतो’ जे लेखे पनि थरको पछाडि ‘थारु’ थरका रुपमा अनिवार्य लेख्नुपर्ने बताए । उनले आफ्नो थारु जातिको अस्तित्व जोगाउनका लागि थारु थर शब्द हुनैपर्नेमा जोड्न जरुरी रहेको उल्लेख गरे ।

“जब आफ्नो जातिको अस्तित्व रहँदैन, थर परिवर्तनले थारु समुदायका संस्कृति र अस्तित्व लोप हुन्छ, तसर्थ थर परिवर्तन गरिनु गलत हो” उनले भने । थारु थर परिवर्तन हुँदै गयो भने थारु जातिको संस्कृति, भेषभूषा, पहिरन लोप हुन सक्दैन भन्ने अवस्था पनि आउन नसक्ने भन्दै चिन्ता समेत व्यक्त गरे । यस जनगणनामा सबै थारुहरुलाई पूर्णरुपमा सहभागिता जनाउन सदस्य थारुले अनुरोध गरे ।

थारु समुदायका सबैले अहिले जान्नैपर्ने ४ वटा महत्वपूर्ण कुराहरुको बारेमा प्रशिक्षण दिइएको छ । थारु बौद्ध समाजका केन्द्रीय महासचिव तथा प्रशिक्षक राजेश चौधरीले सही जनसंख्या कसरी दिने ?, जातजातिलाई लेखाउन र कसरी लेखाउने ?, पुर्खाका भाषा/मातृभाष अन्य भाषा र धर्म लेखाउने बारे चौधरीले प्रशिक्षण दिएका थिए ।

उक्त कार्यक्रममा थारु अगुवा, बुद्धिजीवी, पत्रकार, कलाकार, समाजसेवी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु उपस्थित रहेको थियो ।