धनगढी । कैलालीको जोशीपुर गाउँपालिका –५ मैनापोखरीका २५ वर्षीय आशिष् चौधरीको पारिवारिक आर्थिक अवस्था कमजोर थियो । उनको बुबा बेजुलाल डङ्गौराले जोशीपुर बजारमा बिजुलीसम्बन्धी सानो पसल गरेर जेनतेन घरखर्च धान्नुका साथै छोरालाई प्राविधिक धारको शिक्षा कृषि पढाउने आँट गरे ।
सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत आशिषको यो वर्ष अन्तिम सेमेस्टर थियो । परीक्षा दिएर रिजल्टको पर्खाइमा थिए, उनी । पढाइ सकिएपछि आशिष् र उनको निकै मिल्नेसाथी जोशीपुर–५ सिमरानाका कृषि प्राविधिक अभिमन्यु चौधरीले मिलेर कैलालीमा कृषि अनुसन्धान केन्द्र सञ्चालन गर्ने योजना थियो ।
यसैबिच, छोराको पढाइ र सपना पूरा गर्न बेजुलाललाई आर्थिक संकट आइलाग्यो । डेढ दशकदेखि चलाउँदैआएको पसल बेचेर बेजुलाल आफ्नो श्रीमती मञ्जुदेवीलाई लिएर कामको खोजीमा भारतको बेङ्लोरतिर लागे । यता, आशिषलाई ठुलो अवसर प्राप्त भयो, ‘अर्न एण्ड लर्न’ कार्यक्रममार्फत इजरायल गए ।
कृषिसम्बन्धी ज्ञान सिक्नका लागि गत भदौ २६ गते इजरायल उडेका उनी अब कहिल्यै नफर्किने गरी बिदा भएका छन् । शनिबार इजरायलमाथि भएको हमास आक्रमणमा परी चौधरीको निधन भएको थियो । एक्ला छोरा गुमाएपछि आशिषको परिवार विक्षिप्त बनेको छ । गाउँवासी, छिमेकी, इष्टमित्र सबै शोकाकुल भएका छन् ।
“साथीको मृत्यु भएको खबर अझै पनि विश्वास लागिरहेको छैन” कृषि प्राविधिक एवम् आशिषका साथी अभिमन्यु चौधरीले भने, “यो खबरले उहाँको परिवार र हामी इष्टमित्र सबै मर्माहत भएका छौँ ।”
भविष्यका लागि बनाएका योजना र देखेका सपनाहरू साथीको मृत्युले चकनाचुर भएको अभिमन्यु चौधरीले बताए । “साथी, इजरायल गएपछि पनि हाम्रो भविष्यको योजनाबारे कुरा भइरहन्थ्यो” उनले भने, “तर, एकाएक मृत्युको खबरले सबै योजना खरानी बन्यो ।” उनले आशिष् र आफूले मिलेर कैलालीमा कृषि अनुसन्धान केन्द्र खोल्ने देखेको सपना अधुरै रहने बताए ।
सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत कृषि क्याम्पस टीकापुरबाट लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत इजरायल गएका चौधरीसहित १० जना विद्यार्थीको हमास आतङ्कवादी आक्रमणबाट निधन भएको छ । ज्यान गुमाउनेमा सुदूरपश्चिम प्रदेशका सात जना छन् ।