धनगढी । सुदूरपश्चिम प्रदेशमा भूकम्पबाट मानवीय क्षतिसहित सात हजार बढी भौतिक संरचनामा नोक्सान भएको छ ।
गत मङ्गलबार दिउँसो बझाङ केन्द्रविन्दु बनाएर ५.३ र ६.३ रेक्टरस्केलको भूकम्प गएको थियो । भूकम्पका कारण एक जनाको मृत्यु हुनुका साथै २९ जना घाइते भएका थिए । घाइते हुनेमा बझाङका २१, अछामका तीन, बैतडीका तीन र बाजुराका दुई जना रहेका छन् ।
यसैगरी, भूकम्पबाट सात हजार १६५ भौतिक संरचनामा क्षति पुगेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गतको प्रादेशिक विपद् कार्यसञ्चालन केन्द्रले जानकारी दिएको छ ।
केन्द्रका अनुसार ८३८ निजी घर र छ वटा सरकारी कार्यालय गरी ८४४ संरचना पूर्ण रुपले क्षतिग्रस्त भएको छ । यसैगरी, छ हजार २३८ निजी घर र ८३ वटा सरकारी कार्यालयमा आंशिक क्षति भएको छ । भूकम्पका कारण भौतिक संरचना भत्किँदा नौ पशुचौपायाको मृत्यु हुनुका साथै एउटा घाइते भएको केन्द्रका प्रादेशिक सूचना व्यवस्थापन अधिकृत गौरीलाल बुढाथोकीले जानकारी दिए ।
भूकम्पले बाजुरामा सबैभन्दा बढी भौतिक संरचनामा क्षति पुगेको छ । सो जिल्लामा ६६१ निजी घर पूर्ण रुपमा क्षति भएको छ । खप्तड छेडेदह गाउँपालिकामा २८६ घर, गौमूलमा २५, त्रिवेणी नगरपालिकामा ११०, बडिमालिकामा ११४ र बुढीगंगा नगरपालिकामा १२६ घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । बाजुरामा पाँच हजार ९२ निजी घर २८ सरकारी कार्यालयमा आंशिक क्षति पुगेको जनाइएको छ ।
यसैगरी, भूकम्पको केन्द्रविन्दु भएको बझाङमा १५८ निजी घर र पाँच सरकारी कार्यालय पूर्ण रुपमा ध्वस्त भएको छ । एक हजार ९८ निजी घर र ३० वटा सरकारी कार्यालयमा आंशिक क्षति पुगेको जनाइएको छ । यो जिल्लाको जयपृथ्वी नगरपालिकामामात्रै क्षति भएको हो ।
यस्तै, अछाममा एक घर पूर्ण, २७ घर आंशिक, एक सरकारी कार्यालय पूर्ण र नौ सरकारी कार्यालय आंशिक्षक रुपमा क्षतिग्रस्त भएको छ । डोटीमा एक घरमा आंशिक रुपमा क्षति भएको छ । यसैगरी, बैतडीमा ११ घरमा पूर्ण र १४ घरमा आंशिक क्षति भएको छ । त्यस्तै, १४ वटा सरकारी कार्यालयमा पनि आंशिक क्षति भएको केन्द्रले जानकारी दिएको छ ।
बाजुरा र बझाङमा धेरै घरहरु भत्केको स्थलगत अनुगमन र भूकम्प प्रभावितलाई भेटेर फर्केका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले बताए । उनले भने,“धेरै घरहरु चर्केका छन् । घरभित्र बस्न सक्ने अवस्था छैन ।” उहाँले प्रभावितलाई प्रदेश र सङ्घीय सरकारले राहत सामग्री उपलब्ध गराइसकेको उल्लेख गरे ।