७ फाल्गुन २०८१, बुधबार February 19, 2025

भूकम्पबाट पूर्ण क्षति भएका घरका परिवारलाई ५० हजार रुपैयाँ दिने प्रधानमन्त्रीको घोषणा

१९ आश्विन २०८०, शुक्रबार
भूकम्पबाट पूर्ण क्षति भएका घरका परिवारलाई ५० हजार रुपैयाँ दिने प्रधानमन्त्रीको घोषणा

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बझाङमा गएको भूकम्पबाट पूर्ण क्षति भएका घरका परिवारलाई तत्कालका लागि अस्थायी आवास निर्माण गर्न ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् । भूकम्पबारे जानकारी लिन बझाङको सदरमुकाम चैनपुर पुगेका प्रधानमन्त्री प्रचण्डले भूकम्पबाट भएको क्षति अवलोकनपश्चात भूकम्प पीडितलाई ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्डबमोजिम १५ देखि २० हजार रुपैयाँ तत्काल राहत खर्च व्यवस्था गरिनेसमेत घोषणा गरेका छन् । भूकम्पले निम्त्याएको पहिरोमा परी मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले मृतकका परिवारलाई तत्काल २ लाख रुपैयाँ सहयोग प्रदान गरिने र घाइतेहरुको निःशुल्क उपचार गरिनेसमेत जनाएका छन् । पाल, कम्बल, औषधी, खाद्यान्न, लत्ताकपडा, अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने सामग्रीजस्ता राहत सामग्रीको व्यवस्थापन भएको भन्दै उनले थप सामग्री आवश्यक परेमा तीनै तहका सरकारको समन्वयमा व्यवस्था गरिने बताए ।

भत्किएका, चिरा परेका, आंशिक क्षति भएका घर तथा संरचनाहरुको दीर्घकालिन पुननिर्माण र पुनर्स्थापनाका लागि स्थानीय तह, जिल्ला प्रदेशबाट प्राप्त क्षति मूल्यांकनका आधारमा कार्यविधि बनाई यसअघि गोरखा, सिन्धुपाल्चोकलगायतका जिल्लामा गरिएको पुनर्निर्माणजस्तै स्थानीय सामाग्रीहरूको प्रयोग गरी सुरक्षित पुनर्निमाणको काम अगाडि बढाइने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

प्रधानमन्त्रीले भूकम्पबाट प्रभावितहरूलाई उद्धार, राहत तथा अन्य सहयोग प्रदान गर्न खटिएका राष्ट्रसेवक, सुरक्षा निकाय, स्थानीय तह, नागरिक समाज, दातृसंस्था, नीजि क्षेत्रलगायत सबैलाइ सरकारका तर्फबाट धन्यवाद दिँदै आगामी दिनमा समन्वय, सहकार्य र सहयोगका लागिसमेत आह्वान गरेका छन् ।