२६ आश्विन २०८१, शनिबार October 12, 2024

नेपाली कांग्रेसको चुनावी घोषणापत्र, ६५ वर्षमै वृद्धभत्ता

१२ कार्तिक २०७९, शनिबार
नेपाली कांग्रेसको चुनावी घोषणापत्र, ६५ वर्षमै वृद्धभत्ता

कैलाली । सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मङ्सिर चार गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि शनिवार पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा तथा पार्टी पदाधिकारीहरूले घोषणापत्र सार्वजनिक गरेका हुन् । ‘संविधानको रक्षा स्थायित्व र समुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ भन्ने नारासहित कांग्रेसले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।
घोषणापत्र महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वमा रहेको ४१ सदस्यीय समितिले तयार पारेको हो । अर्थशास्त्री तथा योजना आयोगका पूर्व उपाध्यक्षहरू डा. स्वर्णिम वाग्ले, डा. गोविन्द पोखरेल, शिक्षाविद् डा. कृष्णप्रसाद पौडेल, राजनीतिक विश्लेषक तथा वैदेशिक मामिला जानकार गेजा शर्मा वाग्ले, शंकर तिवारीलगायत कांग्रेस नेताहरूले घोषणापत्र लेखेका हुन् ।
६५ वर्षमै वृद्धभत्ता
नेपाली कांग्रेसले ज्येष्ठ नागरिक भत्ता ६५ वर्षमै दिने घोषणा गरेको छ । शनिबार सार्वजनिक घोषणापत्रमा वृद्धभत्ता दिने उमेर क्रमशः ६५ वर्षमा झार्ने उल्लेख गरिएको छ ।
कांग्रेस नेतृत्वको वर्तमान सरकारले चालु आर्थिक वर्षको बजेटदेखि ६८ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिँदै आएको छ । तर कांग्रेसले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि सार्वजनिक गरेको घोषणापत्रमा ६८ वर्ष गेकालाई दिइने ज्येष्ठ नागरिक भत्ता क्रमशः ६५ वर्षमा झारिने उल्लेख गरिएको छ ।

कांग्रेसले ६५ वर्षमाथिका सबै ज्येष्ठ नागरिकको निशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेको छ । त्यस्तै ७३ वर्ष पुगेकाहरुको उपचार निशुल्क गर्ने घोषणा पनि गरेको छ ।

३ वर्षमुनि र ७३ वर्षमाथिका नागरिकको उपचार निःशुल्क
नेपाली कांग्रेसले तीन वर्षमुनिका बालबालिका र ७३ वर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्ने बताएको छ । शनिबार सार्वजनिक चुनावी घोषणापत्रमा कांग्रेसले ३/७३ को नारा अघि सारेका हो ।
साथै उसले ५ वर्षभित्र सबै नागरिकको बिमा र बिमामार्फत गम्भीर प्रकृतिका रोगको उपचार सुनिश्चित गर्ने बताएको छ । यसका लागि बिमाको दायरा बढाएर १० लाख पु¥याउने समेत उसले बताएको छ ।
६५ वर्षमाथिका जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति विपन्न, अत अशक्त, एकल महिला, महिला तथा स्वास्थ्य स्वयंमसेविकालाई निःशुल्क बिमा गर्ने उसले बताएको छ ।
पाँच वर्षभित्र स्वास्थ्य संस्ता नभएका २६०० वडामा आधारभूत स्वास्थ्य केन्द्र, सबै गाउँनगरपापलकामा विशेषज्ञ चिकित्सकसहित प्राथमिक अस्पताल र सबै उपमहानगर तथा महानगरमा विशेषज्ञ सेवाहरुसहित अस्पताल सञ्चालन गर्ने समेत उसले बताएको छ ।
सबै महिलालाई निःशुल्क स्यानिटरी प्याड, हरेक स्थानीय तहमा एम्बुलेन्सलगायतका स्वाथ्य सम्बन्धी बाचा पनि कांग्रेसको घोषणापत्रमा छ ।
५ हजार सुत्केरी भत्ता
नेपाली कांग्रेसले सुत्केरी भत्ता ५ हजार पु¥याउने घोषणा गरेको छ । घोषणापत्रमा बृहत् लक्ष्य नाम दिएर कोखदेखि शोकसम्मका विभिन्न कार्यक्रमहरु ल्याउने उल्लेख छ । जहाँ सुत्केरी भत्ता ५ हजार पु¥याउने घोषणा गरिएको छ ।
चालु आर्थिक बर्षबाटै सरकारले मानव विकास सूचकांकमा पछि परेका २५ जिल्लाका सुत्केरीलाई पाँच हजार रुपैयाँ सुत्केरी भत्ता दिँदै आएको छ ।

५० युनिटसम्म बिजुली निःशुल्क
नेपाली कांग्रेसले आगामी एक दशकमा नेपाललाई उद्यम–अनुकूल, मध्यम आय भएको समन्यायिक मुलुक बनाउने घोषणा गरेको छ ।
कांग्रेसले अर्थतन्त्रमा अहिले देखिएका चुनौती समाधान गर्ने र दिगो रुपमा देशलाई समुन्नत बनाउने कार्ययोजनासमेत घोषणापत्रमा प्रस्तुत गरेको छ ।
कांग्रेसको घोषणापत्रमा ५० युनिटसम्म खपत गर्नेलाई बिजुली निःशुल्क दिनेदेखि नागरिकका महत्वपूर्ण दस्तावेज ‘होम डेलिभरी’ गर्नेसम्मका योजना समावेश छन् ।
कांग्रेसले अर्थतन्त्रमा रेमिट्यान्सको योगदान २३ प्रतिशतबाट १०–१२ प्रतिशतमा झार्ने प्रतिवद्धता पनि गरेको छ । त्यसका लागि स्वदेशमै सम्मानजनक रोजगारी र उद्यममैत्री वातावरण बनाउने प्रतिज्ञा गरेको छ ।
कांग्रेसको घोषणापत्रमा आधारभूत तहदेखि नै ज्ञानमा आधारित अर्थ व्यवस्था निर्माणमा जोड दिने, स्कुल–कलेज तहदेखि नै सूचना–प्रविधिसम्बन्धी शिक्षा र तालिम दिने र सञ्चार पूर्वाधार निर्माण गर्ने र त्यसमा सर्वसाधारणको पहुँच पु¥याउन प्रोत्साहन गर्ने संकल्प गरिएको छ ।
कनेक्टिभिटीसँग सम्बन्धित पूर्वाधार (सडक, हवाई, रेल, जल, ऊर्जा र डिजिटल सञ्जाल) मा बहुपक्षीय लगानी जुटाउने र त्यसका लागि झन्झटिला ऐन, नियम, प्रक्रिया सुधार गर्ने प्रतिज्ञा कांग्रेसको छ ।
त्यस्तै समग्र उत्पादनको लागत घटाउने, तुलनात्मक लाभका क्षेत्रलाई प्रतिस्पर्धी बनाउने र बर्षेनी लाखौंको संख्यामा सम्मानजनक रोजगारी सिर्जना गर्ने कांग्रेसको प्रतिवद्धता छ ।