२६ आश्विन २०८१, शनिबार October 12, 2024

सही सूचना प्रवाह गर्न आग्रह

१२ कार्तिक २०७९, शनिबार
सही सूचना प्रवाह गर्न आग्रह

धनगढी । निर्वाचन आयोगकी निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले निर्वाचनका बेला सञ्चार माध्यमलाई सही सूचना प्रवाह गर्न आग्रह गरेकी छिन् ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन, २०७९ को सन्दर्भमा निर्वाचन आयोग र राष्ट्रिय समाचार समितिको सहकार्यमा शनिबार धनगढीमा आयोजित सुदूरपश्चिमस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै आयुक्त डा. तुलाधरले सत्यतथ्यमा आधारित सही एवं विश्वसनीय सूचना प्रवाह गर्न आग्रह गरेकी ह्न् ।
सञ्चारमाध्यमले सही सूचना प्रवाह गरी आयोग र मतदाताबीच सेतुको काम गर्ने भएकोले उनले सञ्चारमाध्यम तथा पत्रकारहरुलाई मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिबाट बचेर सन्तुलित र आधिकारिक सूचना दिन आग्रह गरिन् ।
आयुक्त तुलाधरले संविधान र कानुनले दिएको अधिकार र कार्य क्षेत्रबमोजिम आयोगले निर्वाचनको समग्र व्यवस्थापन र तयारी गरिरहेको समेत बताइन् । उनले निर्वाचन आयोगले सञ्चारमाध्यमसँगको सहकार्य र समन्वयलाई पनि उत्तिकै महत्व दिइएको बताएकी छिन् । उनले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्षरूपमा सम्पन्न गराउने क्रममा आयोगको नेतृत्व र हामी सबैको दायित्व भन्ने मान्यतालाई स्थापित गर्नुपर्ने बताइन् ।
‘निर्वाचनका क्रममा सही सूचनाको संवाहक पत्रकार नै हुन् । पत्रकारका सही सूचना हाम्रा लागि कोसेढुङ्गा हुनेछन्’, आयुक्त डा. तुलाधरले भनिन् ‘आम मतदाताले दिने हरेक मत बदर नहोस् भन्नेमा आयोग सचेत छ । त्यसका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुनेछ ।’
उनले निर्वाचनको समयमा आयोग र सञ्चारमाध्यमको सम्बन्ध नङ र मासुजस्तै हुने गरेको बताइन् ।
आयोगले निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र ढुवानीको काम करिब भइसकेको र पहिलो हुने निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ कार्य जारी रहेको उनले जानकारी दिइन् । आयोगले सूचना प्रेस अफिस, कल सेन्टर, इ बुलेटिनजस्ता संयन्त्र सञ्चालन गरी सूचनाको सहज उपलब्धताका लागि काम गरिरहेको जानकारी दिइन् ।
कार्यक्रममा निर्वाचन आयोगका सहसचिव तुलसी बहादुर श्रेष्ठले निर्वाचन आचार संहिता र आम संचार माध्यम र राष्ट्रिय समाचार समितिका प्रधान सम्पादक एकराज पाठकले निर्वाचन र मिडिया बारे सहजीकरण गरेका थिए ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत ओमप्रसाद आर्याल, प्रमुख जिल्ला अधिकारी किरण थापाले निर्वाचन सफल बनाउन पत्रकारहरुको महत्वपूर्ण भूमिका रहेको बताएका थिए । कार्यक्रमको उद्देश्यबारे प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेम भट्टले जानकारी गराएका थिए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका विभिन्न मिडियामा आवद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।