कैलाली । कैलाली क्षेत्र नम्बर ५ का संयुक्त बाम गठबन्धनका उम्मेदवारहरुले चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि पाँच दलीय संयुक्त लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारले शुक्रबार नेपाली काँग्रेस पार्टी कार्यालयमा कैलाली ५का साझा उम्मेदवारले आफ्नो संयुक्त प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् ।
प्रतिनिधि सभा सदस्यका उम्मेदवार डिल्लीराज पन्त तथा प्रदेश सभा क्षेत्र १ का उम्मेदवार रमेशसिंह धामी र प्रदेश सभा २ का उम्मेदवार प्रकाशबहादुर देउवाले संयुक्त रुपमा घोषणापत्र सार्वजनिक गरेका हुन् ।गठबन्धनका दलले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा विभिन्न २२ बुँदा समेटिएका छन् । कैलाली क्षेत्र नम्बर ५ लाई आर्थिक, शैक्षिक, स्वास्थ्य, पर्यटन र खेलकुदको केन्द्रको रुपमा विकास गर्ने प्रतिवद्धता तीनै जना उम्मेदवारले गरेका छन् । यो क्षेत्रको प्रमुख समस्याका रुपमा रहेको अव्यवस्थित सहरीकरण, डुवान, नदी कटान र सार्वजनिक जमिन अतिक्रमणको समस्या समाधान गर्नुका साथै दीर्घकालीन योजनामार्फत् विकासलाई अगाडि बढाउने प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ ।
कैलाली ५ लाई हरित सहरको रुपमा विकास गर्ने प्रतिवद्धता पनि उम्मेदवारले गरेका छन्। त्यस्तै उर्मा, फुलबारी र कैलारी गाउँपालिकामा २५÷२५ शय्याको अस्पताल तीन वर्षभित्र निर्माण गर्ने, वडा नम्बर १५ र १६ मा औद्योगिक क्षेत्र स्थापनाका लागि पहल गर्ने तथा युवा स्वरोजगारका कार्यक्रमलाई प्राथमिकता दिने बामलोकतान्त्रिक गठबन्धनका उम्मेदवारको प्रतिवद्धता छ। गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार डिल्लीराज पन्तले आफूहरुले चुनाव जितेपछि घोषणापत्र कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए । ‘यो चुनावका लागि ल्याइएको प्रतिवद्धतापत्रमात्र होइन, निर्वाचित भएर गएपछि हामी यसलाई कार्यान्वयनमा लैजाने छौँ । कतिपय योजनाहरुका लागि संघमा पहल गरिनेछ ।’ उनले भने, ‘नदी कटान नियन्त्रण, व्यवस्थित सहरीकरण, योजनावद्ध विकास हाम्रो प्राथमिकता रहने छ ।’ किसानलाई मल, सिँचाइ, बीउविजन सहज रुपमा उपलब्ध गराउने प्रतिवद्धता पनि गठबन्धनका उम्मेदवारले गरेका छन्। नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित पाँच दलीय लोकतान्त्रिक बाम गठबन्धनबाट यो क्षेत्रमा प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा काँग्रेसका पन्त, प्रदेश सभा १ मा माओवादीका धामी र प्रदेश सभा २ मा काँग्रेसका देउवा उम्मेदवार छन् ।