काठमाडौँ । कात्तिक पहिलो साता तीन दिनसम्म परेको बेमौसमी वर्षाले किसानको ११ अर्ब ८७ करोड ५१ लाख ६० हजार रुपैयाँबराबरको धानबाली नष्ट गरेको छ ।
क्षतिको विवरण संकलन गर्न गृह मन्त्रालयका सचिवको नेतृत्वमा गठित समितिको प्रतिवेदनपछि सरकारले पीडित किसानलाई पाँच अर्ब ५२ करोड राहत उपलब्ध गराउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी, पहिरो र डुबानका कारण क्षति बेहोरेका किसानलाई चार किसिममा वर्गीकरण गरी राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
साना किसानलाई पहिलो प्राथमिकतामा राखिएको छ । यस वर्षका लागि निर्धारण भएको धानको न्यूनतम समर्थन मूल्य दुई हजार नौ सय दुई रुपैयाँ प्रतिक्विन्टल लागत मूल्य र प्रतिहेक्टर उत्पादन तीन मेट्रिकटनलाई आधार मानेर सरकारले राहत रकम निकालेको हो । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार १० कट्ठासम्म खेत भएका साना किसानलाई ६५ प्रतिशत राहत उपलब्ध गराउने निर्णय भएको छ । यस्ता किसानले प्रतिकट्ठा एक हजार नौ सय २१ रुपैयाँका दरले राहत पाउनेछन् ।
त्यस्तै, ४० कट्ठासम्म (दुई बिघा)जमिन भएका किसानले पूर्ण क्षति बेहोरेको भए ३० प्रतिशत राहत पाउनेछन् । यस्ता किसानलाई प्रतिकट्ठा आठ सय ८७ रुपैयाँका दरले राहत दिइने मन्त्री कार्कीले बताए । पूर्ण क्षति बेहोरेका दुई बिघाभन्दा बढी खेती भएका ठूला किसानलाई सरकारले २० प्रतिशत राहत उपलब्ध गराउनेछ । यस्ता किसानले प्रतिकट्ठा पाँच सय ९१ रुपैयाँका दरले राहत पाउनेछन् ।
आंशिक क्षति भोगेका सबै किसानलाई २० प्रतिशतका दरले राहत उपलब्ध गराइनेछ । यस्ता किसानलाई पनि प्रतिकट्ठा पाँच सय ९१ रुपैयाँका दरले राहत दिइने मन्त्री कार्कीले बताए । अविरल वर्षाले गरेको क्षतिका कारण किसानहरू अत्तालिएपछि सरकारले छिटो तथ्यांक संकलन गरी राहत घोषणा गरेको हो ।