कैलाली । मानव अधिकार तथा शान्ति समाजले १५ जना स्रष्टालाई सम्मान गर्ने भएको छ । समाजले स्रष्टा सम्मान अभियानअन्तर्गत स्थापित पुरस्कारहरुद्वारा १५ जना स्रष्टाहरुलाई सम्मान गर्ने निर्णय गरेको हो ।
समाजले वर्ष २०७८ को श्रीनारायण दाहाल स्रष्टा सम्मान कैलालीकी रविना चौधरीलाई दिने निर्णय गरेको छ । भजनी नगरपालिका–९ (हाल धनगढी) बस्दै आएकी चौधरीले साहित्यिक क्षेत्रमा कलम चलाउँदै आएकी छन् । उनको २०७२ सालमा थारू भाषाको ‘ओँरी’ गजल संग्रह प्रकाशन रहेको छ ।
यस्तै महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान श्रवण मुकारुङ भोजपुर, चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान प्राडा वेणीमाधव ढकाल पाल्पा, कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान वरिष्ठ पत्रकार रामरिझन यादव सिरहा र पवित्रादेवी चौलागाई मानव अधिकार स्रष्टा सम्मान विष्णुलाल कुमाल बाँकेलाई गर्ने निर्णय गरेको छ ।
त्यस्तै ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान रामबहादुर पहाडी पाल्पा, राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान रत्ननिधि रेग्मी संखुवासभा र मानबहादुर रावल वातावरण स्रष्टा सम्मान रामेश्वरी पन्त रुपन्देहीलाई प्रदान गर्ने निर्णय गरिएको समाजका सभापति गोविन्द खनालले जानकारी दिए ।
यस वर्षको गणेशबहादुर श्रेष्ठ स्रष्टा सौगात प्रतिसरा सायमी मानन्धर भक्तपुर, भूमिप्रसाद बराल स्रष्टा सौगात मनु मञ्जिल सुनसरी, जोगमाया बराल स्रष्टा सौगात वीना थिङ तामाङ मकवानपुर, राधादेवी दाहाल स्रष्टा सौगात मनु विक पाल्पा, जनककुमारी रेग्मी स्रष्टा सौगात मेनका पोखरेल आचार्य काठमाडौँ, पद्यप्रसाद दाहाल स्रष्टा सौगात देवकी तिमल्सिना रोकाया हुम्ला, श्रीप्रसाद दाहाल स्रष्टा सौगात सुदेश सत्याल तनहुँलाई प्रदान गर्ने निर्णय गरिएको उनले बताए ।
सम्मानित स्रष्टाहरुका नेपाली, संस्कृत, नेवारी, मैथिली, तामाङ, थारु, अवधी र हिन्दी भाषामा कृतिहरु प्रकाशित छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको सेरोफेरोमा कार्यक्रम आयोजना गरी २० हजार रुपैयाँ पुरस्कार राशीसहित पुरस्कृत स्रष्टाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको समाजले जनाएको छ ।
एक दशक अगाडिदेखि मासिक शान्ति काव्य प्रवाह आयोजना गर्दै आएको शान्ति समाजले साहित्यको आराधना र स्रष्टा सम्मानलाई विशेष अभियानको रुपमा अघि बढाउँदै आएको छ ।