कैलाली । दायित्व नेपाल जनप्रशासन फेलाहरुद्वरा कैलालीको गौरीगंगा नगरपालिकामा बुधबार जनप्रतिनिधी र स्थानीय युवा बिच ‘मेयरसंग नागरिक’ संवाद कार्यक्रम सम्पन्न भएको छ ।
युवा र स्थानीय सरकार बिच विश्वासका खाडल मेट्न र संघीय सुशासन प्रणालीलाई चुस्त र प्रभावकारी बनाउनका साथै जनसहभागिता बढाउने उद्देश्यले कार्यक्रम भएको हो । कार्यक्रममा युवा स्वरोजगारी, युवा उद्यमशीलता विकास, युवा नेतृत्व, बजेट विनियोजन र पारदर्शीता जस्ता विषयमा छलफल भएको थियो ।
कार्यक्रममा नगरपालिकाका मेयर भीमबहादुर देउवाले नगरपालिकाको योजना, नीति निर्माण र कार्यान्वयमा युवा जनसहभागिता बढाउने बताएका थिए ।
कार्यक्रममा गौरीगंगा नगरपालिका दायित्व नेपाल जनप्रशासन फेलो दिपेन्द्र चौधरीले यस्ता संवादले जवाफदेहिता प्रवद्र्धन गर्ने, स्थानीय नीतिगत मुद्धाहरु अन्तर पहिचान गर्न सहयोग पुग्ने बताएका थिए ।
यसका साथै उनले जनता सरकार बिच सार्वजनिक बहसको अवसर सिर्जना गरी जनताका प्रतिक्रियालाई संस्थागत गर्दै नीति निर्माण प्रक्रियामा युवा, महिला र सीमान्तकृत समुदायको समावेशीकरणलाई पनि बढावा दिने विश्वास व्यक्त गरेका थिए ।
अमेरिकी अन्तराष्ट्रिय विकास नियोग(यूएसएआइडी) को आर्थिक सहयोगर एफ.एम.डि.सी संगको सहकार्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा जनप्रतिनीधी, स्थानीय नागरिक समाज लगायत संघ संस्थाका प्रतिनीधी, युवा, संचारकर्मीहरुको सहभागिता रहेको थियो ।