कैलाली । एचआइभी संक्रमितहरुका लागि राज्यले शिक्षा, स्वास्थ्य र रोजगारी सहित सीपमूलक तालिमको व्यवस्था गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले माग गरेका छन् ।
राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशको आयोजनामा मंगलबार धनगढीमा भएको कार्यक्रमका सहभागीले एचआइभी संक्रमितहरुकाका लागि राज्यले शिक्षा, स्वास्थ्य र रोजगारीका साथै सीपमूलक तालिमको व्यवस्था गर्नुपर्ने औंल्याएका हुन् ।
कार्यक्रममा सहभागी अराधना श्रेष्ठले एचआइभी पोजिटिभ महिला दिदीबहिनीहरुका लागि राज्यले शिक्षा, स्वास्थ्याउपचार, रोजगारी लगायत सीपमूलक तालिमको व्यवस्था गर्नुपर्ने बताइन् ।
त्यसैगरि पार्वती विक र इश्वरी भण्डारीले पनि संक्रमितहरुका लागि राज्यले छुट्टै बजेट विनियोजन गर्नुपर्ने औँल्याएका थिए । साथै उनीहरुले संक्रमितहरुका बालबच्चा र परिवारका लागि शिक्षा, स्वास्थ्य लगायत जिविकोपार्जनका लागि विशेष कार्यक्रम पनि ल्याउनु पर्नेमा जोड दिएका थिए ।
राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशका कार्यालय प्रमुख हरि ज्ञवालीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडी, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष योगश रावलले मनतब्य राखेका थिए ।